नेपाल पुनर्बिमाको २१ लाखभन्दा बढी संस्थापक सेयर लिलामीमा, सर्वसाधारणले पनि किन्न पाउने


काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनी ले संस्थापक समूहतर्फको २१ लाखभन्दा बढी सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ।

कम्पनीले युनाइटेड अजोड इन्स्योरेन्स को स्वामित्वमा रहेको २१ लाख ७१ हजार ९३५ कित्ता सेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न आह्वान गरेको हो। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ।

यसअघि कम्पनीले उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्रै बिक्रीका लागि प्रस्ताव गरेको थियो। तर आवेदन नपरेपछि अब जो–कोही योग्य लगानीकर्ताले पनि आवेदन दिन सक्ने गरी लिलामी खुला गरिएको हो।

इच्छुक आवेदकले न्यूनतम १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ। बोलपत्र चैत ५ गतेदेखि १९ गतेसम्म पेश गर्न सकिनेछ।

सेयर बिक्रीको व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड ले गरेको छ। लगानीकर्ताले नक्सालस्थित नारायणचौर कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र फाराम बुझाएर आवेदन दिन सक्नेछन्।