२५ जिल्लामा अध्ययनपछि चैते धानको समर्थन मूल्य तय गरिँदै


काठमाडौँ । कृषि विभागले चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न अध्ययन प्रक्रिया अघि बढाएको छ। किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यसहित विभागले देशका २५ जिल्लामा स्थलगत अध्ययन सुरु गरेको हो।

अध्ययनका क्रममा धान उत्पादनमा लाग्ने समग्र लागत, बीउ, मल, श्रम, मुद्रास्फीति तथा बजार मूल्यलगायतका पक्षहरूको विश्लेषण गरिने विभागले जनाएको छ। सोही आधारमा उत्पादन लागतअनुसार वैज्ञानिक न्यूनतम समर्थन मूल्य तय गरिनेछ।

विभागका अनुसार स्थलगत अध्ययनपछि तयार पारिएको प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालय मा सिफारिस गरिनेछ। मन्त्रालयले उत्पादन लागत, ढुवानी खर्च, बजार अवस्था लगायतका आधारमा प्रतिक्विन्टल मूल्य प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पेश गर्नेछ।

विभागका अनुसार १८ प्रतिशतसम्म चिस्यान भएको धानमा तोकिएको मूल्य लागू हुनेछ भने सोभन्दा बढी चिस्यान भए तौल घटाउने व्यवस्था लागू गरिनेछ।

सरकारले निर्धारण गरेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत धान खरिद गरिनेछ। गत वर्ष सरकारले प्रतिक्विन्टल दुई हजार ८०० रुपैयाँ समर्थन मूल्य तोकेको थियो।