पुष्प व्यवसाय नेपालको आर्थिक वृद्धिका लागि महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हाेः सचिव मिश्र


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले पुष्प व्यवसाय नेपालको आर्थिक वृद्धिका लागि महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र भएको बताएका छन्।

आजदेखि भृकुटीमण्डपमा सुरू भएको २७औँ फ्लोरा एक्स्पो–२०८२ काे उद्घाटन कार्यक्रममा बोल्दै उनले पुष्प क्षेत्रले रोजगारी सिर्जना गर्ने मात्र नभई नागरिकको मानसिक स्वास्थ्य सुधारमा समेत सकारात्मक भूमिका खेल्ने उल्लेख गरे। सहरीकरण बढ्दै जाँदा मानिसमा मानसिक दबाब बढिरहेको सन्दर्भमा पुष्प तथा हरियालीले त्यसलाई कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

चार दिनसम्म सञ्चालन हुने एक्स्पोले खुशी र आनन्द बाँड्ने विश्वास व्यक्त गर्दै उनले प्रदर्शनी अवलोकन गर्न आउनेहरूले सकारात्मक ऊर्जा लिएर फर्किने बताए। यस्तो अवसर बारम्बार नआउने भएकाले आयोजक र सहभागी सबैप्रति उनले आभार व्यक्त गरे।

सचिव मिश्रले पछिल्लो समय पुष्प व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको उल्लेख गर्दै त्यसअनुसार नीतिगत सुधार आवश्यक रहेको बताए। “छिटो बढिरहेको क्षेत्रका लागि नीति, कार्यक्रम र प्रक्रिया पनि समयानुकूल अद्यावधिक गर्नुपर्छ,” उनले भने।

मन्त्रालयले पुष्प व्यवसाय प्रवर्धनका लागि विभिन्न नीतिगत तथा कार्यक्रमगत पहल गरिरहेको जानकारी दिँदै उनले संघ, प्रदेश र स्थानीय तहबिच समन्वय गरेर काम भइरहेको बताए। विशेषगरी प्रदेश तहबाट यस क्षेत्रमा लगानी बढ्नु सकारात्मक सङ्केत भएको उनको भनाइ थियो।

उनले आगामी दिनमा पुष्प उत्पादन, आपूर्ति र बजार विस्तारका लागि सशर्त अनुदान कार्यक्रमलाई निरन्तरता दिइने पनि स्पष्ट पारे। साथै अनुसन्धान तथा प्रविधि विकासमा नेपाल पछाडि परेको स्वीकार गर्दै नेपाल कृषि अनुसन्धान परिषदसँग सहकार्य गरेर नयाँ प्रविधि विकास र स्थानीय आलंकारिक बिरुवाको सुधारमा जोड दिनुपर्ने बताए।

निजी क्षेत्र र अनुसन्धान निकायबिच सहकार्य बढाएर सार्वजनिक–निजी साझेदारी मोडेलमार्फत पुष्प क्षेत्रलाई अझ सुदृढ बनाउन सकिने उनको धारणा थियो। मन्त्रालय सधैं निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै उनले पुष्प मूल्य श्रृंखला विकासमा मिलेर काम गर्ने प्रतिबद्धता जनाए।