काठमाडाैँ । नेपालमा पशु स्वास्थ्य, अनुसन्धान र आधुनिक प्रविधिको समन्वयलाई सुदृढ बनाउने उद्देश्यसहित १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन ‘भेटकन २०२६’ आयोजना हुने भएको छ।
नेपाल भेटेरिनरी एसाेसिएसनको आयोजनामा हुने सम्मेलन चैत २७ र २८ गते रुपन्देही जिल्लाको मणिग्रामस्थित होटल ड्रिमल्याण्ड रिसोर्टमा सञ्चालन हुनेछ।
‘वन हेल्थ पाथवेज फर सस्टेनेबल लाइभस्टक एण्ड फुड सेक्युरिटी’ भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनले मानव, पशु र वातावरणबिचको अन्तरसम्बन्धलाई वैज्ञानिक रूपमा उजागर गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, विद्यार्थी र सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
सम्मेलनका मुख्य आकर्षणहरूमा प्राविधिक सत्र, अनुसन्धानपत्र प्रस्तुति, प्यानल छलफल तथा अनुभव आदान–प्रदान कार्यक्रम समावेश छन्।
१५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने र १० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने अनुमान गरिएको छ। साथै १५ भन्दा बढी अन्तर्राष्ट्रिय आमन्त्रित वक्ताहरूले पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा तथा जलवायु परिवर्तनका प्रभावजस्ता विषयमा आफ्नो धारणा राख्नेछन्।
विद्यार्थीहरूको क्षमता अभिवृद्धिलाई ध्यानमा राख्दै ‘स्टुडेन्ट पोस्टर प्रतियोगिता’ समेत आयोजना गरिनेछ, जसमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै पशु स्वास्थ्य क्षेत्रमा २५ वर्षभन्दा बढी योगदान दिएका अनुभवी पशु चिकित्सकहरूलाई विशेष सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ।
डा. शंकर न्यौपानेका अनुसार सम्मेलनमा पशुपन्छी क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी निकाय, प्रविधि प्रदायक संस्था तथा व्यवसायिक क्षेत्रको सक्रिय सहभागिता रहनेछ।
सम्मेलन परिसरमा पशु स्वास्थ्य, औषधि, खोप, आहार तथा आधुनिक प्रविधिसम्बन्धी प्रदर्शनी स्टलहरू राखिनेछन्, जसले सहभागीलाई नवीनतम अभ्यास र प्रविधिबारे प्रत्यक्ष जानकारी दिनेछ।
यस सम्मेलनमा खाद्य तथा कृषि संगठन (एफएओ), यू.एस. सोयाबिन एक्सपोर्ट काउन्सिल (यूएसएसइसी), नेपाल भेटेरिनरी काउन्सिल लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग रहनेछ।
हाल सम्मेलनका लागि अर्ली बर्ड रजिस्ट्रेसन’ खुला भइसकेको आयोजकले जनाएको छ। इच्छुक सहभागीहरूले आधिकारिक वेबसाइटमार्फत दर्ता गर्न सक्नेछन्।
डा. केदार सुबेदीले सम्मेलनले नेपालमा पशु स्वास्थ्य, अनुसन्धान र प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनका अनुसार ‘वन हेल्थ’ अवधारणालाई व्यवहारमा उतार्दै पशुपालन र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने दिशामा सम्मेलनले महत्वपूर्ण मार्गनिर्देशन प्रदान गर्नेछ।


प्रतिक्रिया दिनुहोस्