काठमाडाैँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँले अनलाइन माध्यमबाट ठगी गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ।
कार्यालयका अनुसार सामाजिक सञ्जाल टिकटकमार्फत पीडितहरूसँग सम्पर्क स्थापित गर्दै ह्वाट्सएप नम्बर माग्ने र त्यसपछि ह्वाट्सएपमार्फत कुराकानी गर्ने क्रममा आफू अमेरिकन आर्मीमा कार्यरत रहेको भनी विश्वास दिलाउने गरिएको पाइएको छ।
विशेषगरी महिलालाई लक्षित गर्दै विभिन्न प्रलोभन देखाउने, हाल नेपालमा विदामा आई जग्गाको कर तिर्न आएको लगायतका झुठा विवरण प्रस्तुत गर्ने तथा खातामा सीमा लागिएको बहाना बनाई रकम माग गर्ने र ठगी गर्ने कार्य गर्दै आएको अनुसन्धानबाट खुलेको छ।
यसै क्रममा भेषराज वाग्ले नाम बताउने विशाल थापा क्षेत्रीलाई काठमाडौँ चन्द्रागिरि नगरपालिका–७, थानकोटबाट पक्राउ गरिएको हो। उनलाई चैत ३ गते करिब ४:०० बजे पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिको स्थायी ठेगाना स्याङ्जा जिल्ला, बिरुवा गाउँपालिका–२ रहेको छ भने उनको उमेर ३४ वर्ष रहेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन माध्यमबाट हुने यस्ता प्रकारका ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्