बैठक सञ्चालनका लागि पनि नयाँ संसद भवन तयारी अवस्था छः गृहमन्त्री


काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ संसद भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै सबै तयारी पूरा भएको बताएका छन् ।

निरीक्षणका क्रममा उनले प्रतिनिधि सभाको छुट्टै बैठक र आवश्यक परेको खण्डमा दुवै सदनको संयुक्त बैठक सञ्चालनका लागि समेत पूर्वाधार तयार रहेको जानकारी दिएका हुन् । उनले कार्यव्यवस्था समितिको बैठक कक्ष र सभामुखको कार्यकक्ष समेत तयार भइसकेको बताए ।

शपथ ग्रहणका लागि मात्र नभई पूर्ण अधिवेशन सञ्चालनका लागि समेत भवन तयार रहेको उनको भनाइ छ । सिट प्लानिङ र फर्निचरको व्यवस्थापनलाई ‘राम्रो’ भन्दै उनले माइक र स्क्रिन जडानको काम समेत द्रुत गतिमा भइरहेको उल्लेख गरे । 

उनले भने, “यसको निर्माण पक्षबाट अब सबै तयारी छ, अहिले । यसमा प्रतिनिधि सभाको अलग्गैको लागि पनि छ र प्रतिनिधि सभा र राष्ट्रिय सभा दुई वटैको संयुक्त गर्नुप¥यो त्यस्तो अवस्था आइहाले त्यसको लागि पनि सबै तयारी छ अहिलेलाई भनेर भन्नुभएको छ । पछाडि पट्टि कार्यव्यवस्था समितिको बैठक बस्नलाई र सभामुखज्युलाई पनि ठाउँ बनिसकेको देखिएको छ ।  त्यसकारणले यसमा बैठक सञ्चालनको लागि पनि अहिलेलाई तयार गर्नुभएको छ । खाली यो शपथको लागि मात्रै होइन कि बैठकै सञ्चालन गर्नुप¥यो, अधिवेशन सञ्चालन गर्नुप¥यो भने पनि त्यसको लागि अहिले तत्कालको लागि यो तयारी अवस्थामा रहेको देखियो ।”

अस्थायी व्यवस्थापन भएपनि फर्निचर र प्रविधिको प्रयोग सन्तोषजनक रहेको र काम द्रुत गतिमा अगाडि बढेको उनले बताए ।