पहिलो कार्यकालको अनुभवसहित महासङ्घमा एजेन्डा केन्द्रित काम गर्नेछु



इलाम जन्मथलो भएकाराजकुमार कार्कीले पुख्र्यौली पेसालाई निरन्तरता दिँदै अलैँची व्यावसायमा संलग्न भए । बुवाले इलाममा सुरु गरेको व्यवसायलाई झापाको विर्तामोड हुँदै काठमाडौँसम्म फैलाए । अलैँची,अदुवा, अम्रिसोलाई प्रमुख व्यावसायिक आधारमात्रै बनाएनन् निर्यात विस्तारको अगुवा बनेर काम गरिरहेका छन् । २०६२ सालमा नेपाल अलैँची व्यावसायी सङ्घको संस्थापक महासचिव बनेका कार्की नेपाल अदुवा सङ्घको उपाध्यक्ष र नेपाल अलैँची महासङ्घको अध्यक्ष भएर नेतृत्व गरे । निर्यात व्यावसायी महासङ्घको संस्थापक सदस्य बनेका कार्कीले नेपाल उद्योग वाणिज्य महासंघको निर्यात परिषद् समितिमा सदस्य बनेर अनुभव सङ्गाले । नेपाल कुचो सङ्घको केन्द्रीय अध्यक्ष कार्की अहिले पनि नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यकारिणी समिति सदस्य र कृषि उद्यम केन्द्रका सहसभापति हुन् । कार्की फेरि महासङ्घको चुनावी मैदानमा उत्रिएका छन् । यसै विषयमा टक्सार न्युजले कार्कीसँग गरेको कुराकानी :

नेपाल उद्योग वाणिज्य महासङ्घको चुनाव नजिकिँदै छ । तपाईं दोस्रो कार्यकालका लागि कार्यकारिणी समिति सदस्यको उम्मेदवार बन्नुभएको छ । महासङ्घमा पहिलो कार्यकालको अनुभव कस्तो रहयो र फेरि आफ्नो उम्मेदवारी दोहाेर्‍याउनुको कारण के हो ?

म नेपाल उद्योग वाणिज्य महासङ्घको अघिल्लो निर्वाचनमा हालका वरिष्ठ उपाध्यक्ष तथा विधान अनुसार आगामी अध्यक्ष बन्दै गर्नुभएका अञ्जन श्रेष्ठ ज्यूको टिमबाट कार्य समिति सदस्यमा निर्वाचित भएको थिएँ ।

यो तीन वर्ष मेरो पहिलो कार्यकाल थियो,जसमा मैले महासङ्घको संरचना, निजी क्षेत्रका मुद्दाहरूको वकालत कसरी गर्ने र प्रभावकारी ढङ्गले कसरी प्रस्तुत गर्ने भन्ने विषयमा धेरै कुरा सिक्ने मौका पाएँ र आफ्नो उपस्थिति जनाए ।

यस अवधिमा मैले कृषि उद्यम केन्द्रको सहसभापतिको रूपमा पनि काम गरेँ । सभापति डिबी बस्नेत ज्यू र अन्य साथीहरूको सहयोगमा कृषि क्षेत्रका वस्तुगत सङ्घहरू र महासङ्घभित्रका सबै संस्थाहरूको बारेमा बुझ्ने अवसर पाएँ ।

मैले कृषिको धेरै कुराहरू जान्ने बुझ्ने अवसर पाए र साथै महासङ्घभित्र आवद्ध सबै संस्थाहरूकोबारेमा जान्ने बुझ्ने अवसर पाएँ ।

उद्योग वाणिज्य महासङ्घभित्र आफ्नो प्रतिबद्धताअनुसार मुद्दाहरू कति प्रभावकारी ढङ्गले पुरा गर्न सक्नुभयो वा उठाउन सक्नुभयो ? आफ्नो पहिलो कार्यकाल कति प्रभावकारी भयो भन्ने लाग्छ ?

उद्योग वाणिज्य महासङ्घ नेपाल सरकारको आर्थिक क्षेत्रको सल्लाहकार र सचेतक हो ।

यसले उठाउने धेरै सवालहरू, धेरै मुद्दाहरूले मुलुकको अर्थतन्त्र र निजी क्षेत्र कहाँ जाने भन्ने विषयमा प्रभाव पार्छ ।

अघिल्लोपटक चुनाव लड्दा मैले साना र मझौला व्यवसायीहरूको पक्षमा प्रतिनिधित्व गर्ने घोषणा गरेको थिएँ र यसै आधारमा उद्योग वाणिज्य महासङ्घमा मार्फतबाट हाम्रा विभिन्न वस्तुगत सङ्घहरूलाई हाम्रा व्यवसायीहरूलाई, उद्यमीहरूलाई परेका समस्या नेपाल सरकारसँग लबिङ गर्ने कुरामा आफ्नो पदीय हिसाबको भूमि निर्वाह गरेँ ।

मेरो अनुभव कस्तो रह्यो भने वास्तविक एजेन्डाको पहिचान गरेर स्पष्ट रूपमा राख्न सकियो भने नेपाल सरकारले पनि नेपाल उद्योग वाणिज्य महासङ्घको कुरा सुन्न विवश हुन्छ र सुन्नु पनि पर्दछ ।

अहिले फेरि उम्मेदवारी दिनुको अर्थ अघिल्लो कार्यकालमा आफूले गरेको कामको मूल्याङ्कन पनि यो निर्वाचनले गर्ने छ र दोस्रो कुरा, नेपालको निजी क्षेत्र भनेका निकै ठुलो क्षेत्र हो ।

यो ठुलो क्षेत्रमा तीन वर्षमा सबै थोक गर्न सकियो र एउटा कार्यकारिणी सदस्यले मात्रै गर्नसक्छ भन्नु पनि गलत होला तर मैले आफ्नो जिम्मेवारी बलबुताले भ्याएसम्म निभाएको छु ।

म ‘रमझम र मनोरञ्जन’ भन्दा पनि स्पष्ट दिशा निर्देशसहितको एजेन्डा केन्द्रित बहस हुनुपर्छ भनेर वकालत गरेको हुनाले हामीले अहिलेको बदलिँदो परिस्थितिमा पनि एजेन्डा केन्द्रित हुनुपर्छ भनेर नै विषय उठाइरहेका छौँ ।

त्यसो भए बदलिँदो परिस्थितिमा यहाँहरूको एजेन्डा के हो ?

मैले कसैलाई दोषरोपण गर्न खोजेको होइन तर सरसर्ती हेर्दा निजी क्षेत्रभित्र दुई खालका प्रवृत्ति अगाडि बढिराखेको देखिन्छ । एउटा, वास्तविक निजी क्षेत्रको मुद्दा के हो ? निजी क्षेत्रले भोग्नुपरेका समस्या के हुन् ?

निजी क्षेत्रलाई ति समस्याहरूबाट निकास गराउनुपर्छ भनेर निजी क्षेत्रको पक्षमा एजेन्डासहित वकालत गर्ने पक्ष पनि विगतदेखि नै छ ।

अर्को, यसको विपरीत एजेन्डा उठान गर्ने बेलामा शून्य भएर बस्ने, निदाएर बस्ने, एजेन्डाप्रति ध्यान नदिने तर जबजब उद्योग वाणिज्य महासङ्घको निर्वाचनत आउँछ तब एजेन्डालाई अनेत्र मोडेर वास्तविक एजेन्डलाई ओझेल पार्ने प्रवृत्ति छ ।

हामी सुस्पष्ट एजेन्डासहित जानुपर्छ भन्ने मान्यता राख्छौँ । एजेन्डासहितको उद्देश्य र ध्यय भयो भने मात्रै सफलता प्राप्त गर्न सकिन्छ भन्ने हो । अहिले हाम्रो जो अध्यक्ष बन्दैहुनुहुन्छ– अञ्जन श्रेष्ठ, उहाँको नेतृत्वमा एजेन्डालाई लिएर अगाडि बढिरहेका छौँ ।

हामी वस्तुगत तर्फबाट शिवप्रसाद घिमिरेको समूहमा छौँ ।

भाद्र २३ र २४ को ‘जेनजी आन्दोलन’ पछि एकप्रकारको शून्यताको अवस्था रहँदा, राज्यविहीनताको अवस्था महसुस र असुरक्षित महसुस गरेको बेला,एकआपसमा हिँडडुल गर्ने अवस्था नभएको बेला थियो । निजी क्षेत्रका विभिन्न भवन र प्रतिष्ठानहरू जलेका थिए ।

यस्तो अवस्थामा २०८२ असोज ६ गते शिवप्रसाद घिमिरेको नेतृत्वमा कार्यक्रम गरेर निजी क्षेत्रलाई एकीकृत गर्ने र आत्मबल बढाउने काम भएको थियो । भर्खरै पनि हामीले एउटा वृहत कार्यक्रम गर्‍यौँ ।

अहिले सरकारसँग स्पष्ट बहुमत भएकोले निजी क्षेत्रले ‘वाच डग’को रूपमा उभिनुपर्छ ताकि गलत कानुन नबनोस् र अप्ठ्यारा कानुनहरू तुरुन्तै संशोधन गर्न सकियोस् ।

एकल बहुमतको सरकार हुँदा एकातिर यसको राम्रो पक्ष यो छ तर त्यही भित्र गलत मनासयले निजी क्षेत्रलाई पेल्ने खालको कानुन बनाएर पास हुनसक्छ । यस्तो अवस्थामा निजी क्षेत्रका समस्या केके छन् ?

नयाँ बन्ने सरकारलाई के गरेर सजिलो हुन्छ भनेर सोच्नुपर्छ । हाम्रो समूह विगतदेखि नै एजेन्डासहित अगाडि बढ्नुपर्छ भन्नेमा प्रष्ट छ ।

महासङ्घको चुनावमा अन्य पदहरूमा सर्वसहमति गरौँ भन्ने आवाजहरू पनि उठिरहेका छन्, यसको सम्भावना कति छ ?

सहमतिको सम्भावना नभएको होइन तर एउटा पक्षले सर्वसम्मति गरौँ भनेको,हामीले नमानेको भाष्य सिर्जना गरिएको छ ।

यो गलत हो । सर्वसम्मतिको पक्षमा सबैभन्दा बढी हामी छौँ । प्रतिस्प्रधा गर्ने मित्रहरूले भने निर्वाचनपछि कार्य समितिले निर्णय गर्ने पदहरू (जस्तै वरिष्ठ उपाध्यक्ष) को पहिले नै घोषणा गरेर आफ्नो अभियान सुरु गर्नुभयो ।

हामी त अहिले पनि निर्वाचित कार्यसमितिले तय गर्ने पदहरूको बारेमा घोषणा गरेर जादैनौँ किनभने त्यो निर्वाचित कार्यसमितिको अधिकार हो । त्यो अधिकारलाई अहिले नै हस्तक्षेप गर्न चाहदैनौँ ।

यो निर्वाचित कार्य समितिको अधिकारमाथिको हस्तक्षेप हुन्छ । निर्वाचित भएर आएका कार्यसमिति सदस्यहरूले कस्तो खालको नेतृत्व चाहिन्छ भन्ने नयाँ निर्वाचित कार्यसमिति सदस्यहरूले निर्णय गर्ने कुरा हो ।

यसकारण पनि हामी सर्वसम्मतको पक्षमा छौँ । श्रद्धय अध्यक्ष चन्द्र ढकाल ज्यूले आफ्नो कार्यकालमा विधान संसोधन लगायतका ऐतिहासिक काम गर्नुभएको छ । यसका लागि उहाँलाई सबैले ह्दयदेखि नै धन्यवाद दिनुपर्छ ।

यो सँगसँगै अञ्जन श्रेष्ठ जो अध्यक्ष बन्दैहुनुहुन्छ । उहाँले के भनिरहनुभएको छ भने निजी क्षेत्र भागबन्डाको आधारमा जानुभन्दा पनि योग्य र विशिष्ट व्यक्तिहरु महासङ्घमा आउनुपर्छ, योग्यताको आधारमा,कामको आधारमा अगाडि चल्नुपर्छ, त्यस कारण मैले आफ्नो टिम अगाडि लिएर गए भने नेपालसरकारसँग लबिङ् गर्ने कुरा,व्यवसायीको पक्षमा गर्ने कुराका लागि मलाई सजिलो हुन्छ ।

महासङ्घ अध्यक्षमुखी संस्था भएकाले अध्यक्षको चाहना अर्कोतिर निर्वाचित टिम अर्को खालको बन्यो भने अध्यक्षलाई काम गर्न गाह्रो हुन्छ । म सबैलाई के आव्हान गर्न चाहन्छु भने जो निर्वाचित भएर आए पनि अध्यक्षकै टिम हो ।

यसलाई अझै सजिलो बनाउनका लागि भावी अध्यक्षसँग सरसल्लाह र वार्ता गरेर उहाँसँग छलफल गरेर कस्तो टिम ल्याउने टुङ्ग्याउँदा हुन्छ । जो आए पनि निजी क्षेत्रकै साथी हो । अब बन्ने अध्यक्षसँग किन दुरी बढाउने ?

भावी अध्यक्षसँग बसेर छलफल गरेर गयो भने सर्वसम्मतको अवस्था बन्न सक्छ ।

सर्वसम्मत भएन भने पनि निर्वाचन हुनु लोकतान्त्रिक पद्धति नै हो तर सबैले के बुझ्न जरुरी छ भने अध्यक्षले समर्थन गरेको टिम नै आधिकारिक र वास्तविक हो ।

यसो भएकाले हामीले प्रयास गर्दा सर्वसम्मत हुँदैन भन्ने अवस्था त छैन ।

अलैँचीको पृष्ठभूमिबाट आउनुभयो कुचो सङ्घ बनाउँदा मानिसहरूले मजाक पनि उडाएका थिए । यी आफ्नो क्षेत्रको उद्दा चाहीँ यो तीन वर्षमा कत्तिको स्थापित गर्न सकियो जस्तो लाग्छ ?

हाम्रो देशको अर्थतन्त्र आयातित भए पनि अलैँची, अदुवा, अम्लिसो र चियाको निर्यातमा निजी क्षेत्रको अतुलनीय भूमिका छ ।

हामी करिब १२ अर्बको अलैँची, १ अर्ब भन्दा बढीको कुचो (अम्लिसो), र १ अर्ब भन्दा माथिको अदुवा निर्यात गर्छौँ ।

कुचो सङ्घ बनाउँदा मानिसहरूले मजाक उडाएका थिए तर अहिले हामी यसमा आत्मनिर्भर भएर पनि १ अर्बको निर्यात गछौँ ।

महासङ्घ अध्यक्षमुखी संस्था भएकाले अध्यक्षको चाहना अर्कोतिर निर्वाचित टिम अर्को खालको बन्यो भने अध्यक्षलाई काम गर्न गाह्रो हुन्छ । म सबैलाई के आव्हान गर्न चाहन्छु भने जो निर्वाचित भएर आए पनि अध्यक्षकै टिम हो । अब बन्ने अध्यक्षसँग किन दुरी बढाउने ? भावी अध्यक्षसँग बसेर छलफल गरेर गयो भने सर्वसम्मतको अवस्था बन्न सक्छ ।

हिजो भारतमात्रै निर्यात हुन्थ्यो भने म आएपछि अहिले विस्तार भएर बङ्गलादेशसम्म जान्छ ।

यी वस्तु बङ्गलादेश निकासी गर्दा लाग्ने ट्याक्सले अहिले समस्या भएको छ । हामीले सरकारलाई पनि सुझाव दिएका छौँ । आगामी कार्यकालमा पहल हुनेछ ।

कृषि उद्यम केन्द्रमा रहेर मकै, धान, कोदो, मह र जडीबुटी जस्ता उत्पादनहरूको आधुनिकीकरण र निर्यात प्रवर्धनमा काम गरेको छु । अब यसका लागि थप पहल हुने छ ।

यसका साथै नयाँनयाँ मुद्दाहरू, नयाँ नयाँ विषयहरू आउने गर्दछ । विभिन्न उतारचढावहरू आउनसक्छ । आएका समस्या समाधानका लागि र विषय उठानका लागि म हिजो पनि कटिबद्ध थिए र आज पनि कटिबद्ध छु र भोली पनि रहने छु ।

चुनावी अभियानमा व्यवस्त हुनुहुन्छ अन्तिममा के भन्न चाहनुहुन्छ ?

महासङ्घलाई म विगतमा मलाई निर्वाचित गर्ने मतदाताहरूलाई धन्यवाद दिन चाहन्छु ।

पहिले म कृषि क्षेत्रको मात्र प्रतिनिधित्व गर्थें भने अहिले पर्यटन, जलस्रोत, सेवा र पुँजी बजार जस्ता धेरै क्षेत्रका साझा र विशिष्ट समस्याहरू बुझ्ने मौका पाएको छु ।

हरेक क्षेत्रको साझा समस्याहरू छ । निजी क्षेत्रलाई हेर्ने नकारात्मक दृष्टिकोण छ ।

‘नाफा मात्र कमाउने समूह’ भन्ने भाष्यलाई तोड्नुपर्नेछ । निजी क्षेत्र सबल भए मात्र मुलुकको उन्नति सम्भव छ ।

म पुनः निर्वाचित भएमा निजी क्षेत्रका समग्र समस्याहरू समाधान गर्न र आगामी अध्यक्षको कार्यकाललाई सफल बनाउन पूर्ण पहल गर्नेछु ।

सबै मतदाता साथीहरूलाई मलाई मतदान गरेर निर्वाचित गराउन आग्रह गर्दछु ।