चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै


काठमाडाैँ । मिथिलाञ्चलमा आज चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदैछ । गत आइतबारदेखि शुरु भएको चैती छठ पर्वको तेश्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न लागिएको हो ।

बुधबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन हुनेछ । कार्तिक महिनामा मनाईने छठ पर्व जतिको संख्यमा श्रद्धालु भक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या पनि बढ्दै गइरहेको छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ ।

खरनाको अवसरमा व्रतालुहरुले निराहार उपवास बसि साँझपख षष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दुध एवं विभिन्न प्रकारको फलफूल चढाइने गरिन्छ ।

पर्वको दोश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ्य दिन व्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखि नै व्रतालुहरु पोखरीमा प्रवेश गरी षष्ठी माताको ध्यान गर्दै सूर्य देवलाई अर्घ्य दिने गर्दछन् । अर्घ्यमा मुला, उखु, भण्टा, ठकुवा, भुसवा,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ ।

सन्ध्या अर्घ्य पश्चात रातभर व्रतालुहरु जाग्राम बसेर भोलीपल्ट चैत्र शुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गर्ने परम्परा रहेको छ । चैती छठका लागि जनकपुरधामको गंगासागर, धनुषसागर, अरगज्जा सर लगायतका पोखरीका साथै गाउँगाउँमा श्रद्धालु भक्तजनहरु चैती छठ पर्व मनाउँदैछन् ।