काठमाडाैँ । नेपालमा सार्कस्तरीय क्षयरोग तथा एचआईभी एड्ससम्बन्धि सम्मेलन हुने भएको छ । सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रले नेपालमा तेस्रो पटक यो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
क्षयरोग तथा एचआईभी एड्स रोग नियन्त्रणमा देखिएको चुनौतिलाई सामना गरेर अघि बढ्ने उद्देश्यसहित यस वर्ष पनि सो सम्मेलन नेपालमा गर्न लागिएको सो केन्द्रका निर्देशक डा. अनुज भट्टचनले बताए ।
मंगलबार विश्व क्षयरोग दिवसको अवसर पारेर भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले सो सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउनका लागि त्यस क्षेत्रका विज्ञहरुलाई सहयोग गर्न पनि आह्वान गरे ।
निर्देशक भट्टचनले भने, “जति पनि टिवी, एचआईभी क्षेत्रमा काम गर्नुभएको छ । उहाँहरुलाई गोलबन्द गर्ने र कमन विषय जाने हिसावले पहिलो र दोस्रो सार्कस्तरीय टिवी, एचआईभी कन्फरेन्स पनि भएको थियो । त्यो हामी यो साल पनि मनाउँछौँ । त्यसमा मैले विशेष गरेर सचिवज्यु र राष्ट्रिय क्षयरोग केन्द्र्रका पदाधिकारीहरुलाई पनि मैले जानकारी गराएँ । हामीले राष्ट्रिय कार्यक्रममार्फत गरेर चुनौतिहरु र विभिन्न सदस्य राष्ट्रहरुले भोग्दै आएका चुनौतिहरुको अनुभव साटासाट गर्ने र त्यस्ता समस्या मिलेर समाधान गर्नका लागि पनि हामी यो साल पनि त्यो कन्फरेन्स गर्न गईरहेका छौँ । यस क्षेत्रका विज्ञहरुलाई पनि सो कार्यक्रमलाई सहयोग गर्न हुन हार्दिक अनुरोध पनि गर्न चाहन्छु ।”
सो केन्द्रले नेपालमा क्षयरोगीहरुको संख्या बढदै गएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी रुपमा नियन्त्रण गर्नका लागि सबै स्थानीय सरकारलाई परिचालन गर्न अतिआवश्यक भएको निष्कर्ष समेत निकालेको छ ।
केन्द्रका निर्देशक भट्टचनले क्षयरोग नियन्त्रणको कामलाई प्रभावकारी बनाउन तीन वटै तहका सरकारले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्