कपिलवस्तुमा तीन दिनपछि हट्यो निषेधाज्ञा


काठमाडौँ । साम्प्रदायिक तनावपछि संवेदनशील बनेको कपिलवस्तुमा अवस्था क्रमशः सामान्य बन्दै गएपछि प्रशासनले तीन दिनदेखि जारी निषेधाज्ञा हटाएको छ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार सर्वपक्षीय छलफलमार्फत सामाजिक सद्भाव कायम राख्ने सहमति भएपछि मंगलबार बिहान ९ बजेदेखि निषेधाज्ञा हटाइएको हो।

निषेधाज्ञा हटेसँगै महाराजगञ्ज नगरपालिका–२ वरदवा क्षेत्र पुनः सामान्य अवस्थामा फर्किएको छ। बजार, आवतजावत र दैनिक गतिविधि क्रमशः सञ्चालनमा आउन थालेका छन् भने स्थानीयमा त्रास कम हुँदै गएको प्रशासनले जनाएको छ।

यसअघि चैत ७ गते दुई समुदायबीच विवाद चर्किँदा झडपको स्थिति सिर्जना भएको थियो। तनाव नियन्त्रण गर्न प्रशासनले तत्काल निषेधाज्ञा जारी गरेको थियो।

प्रशासनले अब कुनै पनि पक्षबाट उत्तेजना फैलाउने गतिविधि नगर्न आग्रह गर्दै शान्ति र सहिष्णुता कायम राख्न सबैलाई अपिल गरेको छ।