काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू केबल मन्त्री पदको संख्या थप्न मात्र नभई नेपाली अर्थतन्त्रमा ‘विराट लक्ष्य’ सहित ठूलो परिवर्तन र आर्थिक राजकाजमा ‘क्रमभंगता’ गर्न आएको उद्घोष गरेका छन्।
पदभार ग्रहण गरेलगत्तै अर्थ मन्त्रालय मातहतका निकाय र कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले पुरानो ढर्राको कार्यशैलीबाट अब मुलुक नचल्ने स्पष्ट पारे।
सम्बोधनका क्रममा अर्थमन्त्री वाग्लेले कर्मचारीहरूलाई ढुक्क भएर काम गर्न आग्रह गर्दै सुशासनमा कुनै सम्झौता नगर्ने चेतावनी दिए। “माछा टाउकोबाट बिग्रन्छ भन्छन्, हामी राजनीति गर्नेहरू असल भएपछि तपाईँहरूलाई पनि केही फरक पर्दैन,” उनले भने, “म कर्मचारीलाई गाली गर्न आएको होइन, तर यदि कोही गलत बाटोमा छ भने म माया गर्न सक्दिनँ।”
उनले लोकसेवा आयोगको परीक्षा दिँदा देश बनाउने बारे लेखिएका निबन्धहरू सम्झन कर्मचारीलाई आग्रह गर्दै घुस खाने र खुवाउने समय अब सकिएको घोषणा गरे। “मेरिट र इमानदारिता मेरो मुख्य कसी हुनेछ, राजनीतिक पूर्वाग्रह वा दलीयकरणको छायाबाट अब कर्मचारीतन्त्र टाढा रहनुपर्छ,” मन्त्री वाग्लेको भनाइ थियो।
विगतका विसंगति चिर्न जनताले दुई-तिहाइ बहुमत दिएको स्मरण गराउँदै मन्त्री वाग्लेले बरालिएको आर्थिक संरचनालाई ट्रयाकमा ल्याउने प्रतिवद्धता व्यक्त गरे। उनले आगामी बजेटमार्फत ‘आर्थिक राजकाजको रूपान्तरण’ सुरु हुने र त्यसमा कर्मचारीहरूको योजना र क्षमताको पूर्ण प्रयोग गरिने बताए।
उनले सम्बोधनका क्रममा भने, “हामी अर्थ-राजनीतिक महत्त्वपूर्ण जनादेशसहित आएका छौँ। नियमित प्रक्रियाबाट मात्रै अब सुधार सम्भव छैन, हामी यहाँ रिफर्म (सुधार) का लागि आएका हौँ।”
नेपाली अर्थतन्त्रलाई विश्वभर छरिएका नेपाली (डायस्पोरा) सँग जोड्ने आफ्नो प्राथमिकता रहेको उनले बताए। “एकपटकको नेपाली सधैँको नेपाली” भन्ने मान्यतालाई आत्मसात् गर्दै उनले डायस्पोराको लगानी र सम्पत्तिको सुरक्षा गर्ने र त्यसपछि मात्र विदेशी लगानी आकर्षित हुने विश्वास व्यक्त गरे।
सुशासन, आर्थिक रूपान्तरण र दीर्घकालीन महत्त्वका योजनाहरूमा सरकारले हस्तक्षेपकारी रूपमा काम गर्ने संकेत दिँदै उनले जनताको हितमा आजैदेखि कयौँ महत्त्वपूर्ण निर्णयहरू हुने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्