काठमाडाैँ । गृहमन्त्री सुधन गुरुङले विपद्का कारणले कुनैपनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएका छन् ।
आइतबार प्राधिकरणको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले आउँदो मनसुनमा विपद्को कारण कुनैपनि नागरिकले ज्यान गुमाउन नपर्नेगरी पूर्वतयारी गर्न निर्देशन दिएका हुन् ।
उनले विगतमा विपद् पूर्वतयारी र प्रतिकार्य समयमै नहुँदा नागरिकले अकालमै ज्यान गुमाउनुपरेको भन्दै अब उप्रान्त यस्तो हुन नदिइने बताए ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पाठ्यक्रममै व्यावहारिक शिक्षा समावेश गर्नका लागि शिक्षा मन्त्रालयमा प्रश्ताव पेश गर्न समेत प्राधिकरणलाई निर्देशन दिएको उनले बताए ।
उनले नेपालमा भूकम्प, बाढीपहिरो लगायतका विपद् बारम्बार दोहोरिने भएकाले तयारीमा हुने ढिलाइलाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।
उनले विपद् जोखिमयुक्त क्षेत्रमा विपद्का कारण कुनैपनि नागरिकले ज्यान गुमाउन नपर्ने गरी प्रतिकार्यको तयारीमा जुट्न समेत निर्देशन दिएको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्