काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओलीले कृषि मलको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा उनले खेतीवाली लगाउने समय आएको उल्लेख गर्दै कृषि मलको व्यवस्थामा सरकारले कस्तो रणनीति अप्नाएको छ ? भनि प्रश्न समेत गरिन् । पश्चिम एशियाको द्वन्द्वका कारण मलको मूल्य वृद्धि र आपूर्ति संकटका संकेतहरु देखा परिसकेकाले सरकारको त्यसको व्यवस्थापनमा समयमा नै ध्यान दिन आवश्यक रहेको सांसद ओलीको भनाइ थियो ।
उनले किसानले समयमा मल नपाए त्यसको मार मुलुकको अर्थतन्त्रमा समेत पर्ने भएकाले सरकारले त्यसको बारेमा आवश्यक निर्णय लिन ढिलाई गर्न नहुने बताइन् ।
सांसद ओलीले भनिन्, “रोपाईंको सिजन आउँदैछ । यस अघि मल र कृषि सामग्री सुनिश्चित गर्नु अति आवश्यक छ । तर पश्चिम एशीयाको द्वन्द्वका कारण मलको मूल्य वृद्धि र आपूर्ति संकटका संकेतहरु देखापरिसकेको छन् । यस विषयलाई लिएर सरकारको तयारी के छ ? म सम्माननीय सभामुखमार्फत सोध्न चाहन्छु । रोपाईको मुखमा मलको अभाव भएमा किसानहरु पीडित हुन्छन् । हाम्रो उत्पादन घटछ । खाद्य सुरक्षा जोखिममा पर्छ । र, अर्थतन्त्रमा समेत गम्भिर असर पर्दछ । त्यसैले बैकल्पिक आपूर्ति स्रोत खोज्ने र आपूर्ति विविधिकरण गर्ने र कृषि मलको सप्लाईमा सरकारको रणनीति के छ ? यसको व्यवस्था गरोस भनेर म सरकारसमक्ष ध्यानाकर्षण गराउन चाहन्छु । सो समस्याको समाधकान कृषि र परराष्ट्र मन्त्रालयले मिलेर समाधान गरोस् ।”
सांसद ओलीले कृषि मलको सहज आपूर्तिका लागि सरकारले गरिरहेको तयारीबारे पनि जानकारी दिन आवश्यक रहेको बताइन् ।


प्रतिक्रिया दिनुहोस्