काठमाडौं । अप्रत्याशित मूल्यवृद्धि र निर्माण सामग्रीको अभावका कारण देशभरका विकास निर्माणका काम प्रभावित भएका छन्। नेपाल निर्माण व्यवसायी महासंघ ले वर्तमान परिस्थितिमा निर्माण कार्य निरन्तरता दिन ‘अप्ठ्यारो मात्र नभई करिब असम्भव’ भएको जनाएको छ।
महासंघका अध्यक्ष निकोलस पाण्डे का अनुसार सडक निर्माणमा पेट्रोलियमजन्य पदार्थको करिब ४० प्रतिशत ‘वेटेज’ रहने गर्दछ। तर हाल डिजेलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको र सहज रूपमा उपलब्ध नभएकाले आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेका छन्।
“इन्धनको अभाव र महँगीले काम गर्न निकै कठिन बनाएको छ,” उनले भने, “अहिलेको अवस्थामा धेरै आयोजना अघि बढाउन सकिने अवस्था छैन।”
पाण्डेले नदीजन्य सामग्री, ढुङ्गा, गिटी, बालुवा,उत्खननका लागि बनाइएका मापदण्ड अत्यन्तै जटिल भएको पनि गुनासो गरे। उनका अनुसार काम गर्ने सिजनमै स्थानीय तह र प्रशासनले क्रसर उद्योगहरूलाई अवैध ठहर गर्ने प्रवृत्तिले समस्या थप चर्किएको छ।
उनले वातावरणीय क्षति न्यून हुने गरी विकासका लागि आवश्यक सामग्री पर्याप्त उत्खनन गर्न पाउने व्यावहारिक नीति आवश्यक रहेको बताए। “यी सामग्री निजी प्रयोजनका लागि होइनन्, राष्ट्रिय गौरवका सडक र पुल निर्माणका लागि हुन्,” उनले स्पष्ट पारे।
अध्यक्ष पाण्डेका अनुसार मध्यपूर्व क्षेत्रमा देखिएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि बढ्दा यसको प्रत्यक्ष असर नेपाली निर्माण क्षेत्रमा परेको छ। यही कारण महासंघले काम गर्न नसक्ने व्यवसायीहरूलाई अस्थायी रूपमा काम नगर्न सुझाव दिएको छ भने म्याद थपका लागि पहल गरिरहेको जनाएको छ।
साथै, महासंघले हाल कार्यरत ठेकेदारहरूका लागि ‘उचित मूल्य समायोजन’ को माग गर्दै सरकारसँग लबिङ तीव्र बनाएको छ। पाण्डेका अनुसार अहिले प्रयोगमा रहेको मूल्य समायोजन इन्डेक्सले बढ्दो महँगी धान्न नसक्ने भएकाले नयाँ व्यवस्था आवश्यक भएको हो।
उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय का नेतृत्वबाट मूल्य समायोजनमा सकारात्मक प्रतिबद्धता आएको जानकारी दिँदै छिट्टै ठोस निकास निस्कनेमा आशावादी रहेको बताए।


प्रतिक्रिया दिनुहोस्