काठमाडाैँ । वागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री मधुसुदन पौडेलले कृषि तथा पुष्प व्यवसायको प्रवर्द्धन गर्न आयातमा कडाई गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय फलफूल विकास केन्द्रले आयोजना गरेको १६ औँ वागवानी कार्यशाला गोष्ठीमा उनले केन्द्रिय सरकारले कृषि तथा पुष्पजन्य वस्तुको आयातमा कडाई गर्ने नीति लिनुपर्ने बताएका हुन् ।
हाल कृषि तथा पुष्प व्यवसाय घट्दो अवस्थामा रहेको भन्दै उनले यसलाई पुनर्जीवित गर्न विदेशी वस्तुको आयातमा नियन्त्रण आवश्यक रहेको बताए । उनले कृषि उपज, फलफूल तथा पुष्पजन्य वस्तु बाहिरबाट आउँदा नेपालका किसान समस्यामा परेको उल्लेख गरे ।
आयातमा कडाईको लागि प्रदेश सरकारले संघीय सरकारसँग लविङ गरिरहेको उनले जानकारी दिए । नेपाली किसानको संरक्षणका लागि सरकारले कडा नीति लिनुपर्ने उनको भनाइ छ । उनले कृषि तथा कृषि तथा पुष्पजन्य व्यवसाय प्रवद्र्धनको लागि तीन वटै तहका सरकारको समन्वय आवश्यक रहेको पनि बताए ।
प्रदेश सरकारले मात्रै यसको प्रवद्र्धन गर्न नसक्ने उनको भनाइ छ । तरपनि प्रदेशभित्र रहेको कृषि तथा पुष्प व्यवसायलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा दिएर बजेट विनियोजन गरेको जानकारी दिए । यस क्षेत्रमा अनुसन्धान विस्तार गर्न प्रदेश सरकारले आगामी आर्थिक वर्षमा अझै प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उनको भनाइ छ ।
उनले रोजगारी सिर्जनाका लागि पुष्प तथा कृषि क्षेत्र महत्वपूर्ण रहेको बताए । युवाहरू वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थालाई अन्त्य गर्न आन्तरिक अवसरको पहिचान र विकास आवश्यक रहेको उनको भनाइ छ । रोजगारीको नयाँ क्षेत्र कृषि तथा पुष्प व्यवसाय हुने उनले बताए ।
मन्त्री पौडेलले नेपालजस्तो जैविक विविधताले भरिपूर्ण देशले बीउ, अन्न र पुष्प उत्पादनमा आत्मनिर्भर भई निर्यात गर्नसक्ने ठूलो सम्भावना रहेको बताए । तर यसको पर्याप्त उपयोग हुन नसकेको उनको भनाइ छ । संसारलाई पुग्ने बीउ उत्पादन गर्ने क्षमता भएपनि त्यसलाई प्राथमिकता दिन नसकेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्