काठमाडाैँ । किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको नेपाल केरा उत्पादक महासंघले जनाएको छ ।
बजारमा केराको खुद्रा मूल्य प्रति दर्जन ३५० देखि ४०० रूपैयाँसम्म पुगेको र उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भइरहेकाे अवस्थामा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको महासंघले जनाएको हो ।
किसानले बारीबाट बिक्री गर्दा स्थानीय जात (मालभोग) प्रतिदर्जन ७०-८५ रूपैयाँ र हाइब्रिड जात (विलियम, जी-नाइन) ५०-६० रूपैयाँ प्रति दर्जन बिक्री गर्ने गरेको महासंघले जानकारी दिएकाे छ ।
उपभोक्ताले ३५०-४०० रूपैयाँसम्ममा तिर्नुपर्ने भएकोले बजारमा बिचौलियाको अत्यधिक हस्तक्षेप भएको स्पष्ट देखिएकाे महासंघले जनाएकाे छ।
केरा कृषिको आधार भएको र नेपाल आत्मनिर्भर बन्न सक्ने बलियो सम्भावना रहेको उल्लेख गरिएकाे छ । यसबिच, फ्युजारियम विल्ट (पानामा रोग) को खतरनाक भेरियन्ट ट्रपिकल रेस-४ को जोखिम अत्यन्त गम्भीर रहेकोले यस्तो अवस्थामा चोरी पैठारीमार्फत विदेशी केरा भित्रिनु राष्ट्रिय जैविक सुरक्षामाथि खतरा भएको भएकाले गर्दा यसले भविष्यमा नेपालको केरा खेती नै नष्ट हुन सक्ने जोखिम रहेको महासंघले उल्लेख गरेको छ।
महासंघले नेपाल सरकारले जैविक सुरक्षा अपनाउँदै केरा आयातमा भएकाे नियन्त्रण सराहनीय र प्रशंसनीय रहेको जनाएको छ। महासंघका अनुसार अहिलेको २-३ महिना (बैसाख-असार) संक्रमणकालीन अवस्था मात्र हो। उत्पादन केही कम हुँदा बजारमा असन्तुलन देखिएको तर यसपछि नेपाली किसानहरू पर्याप्त मात्रामा उत्पादन गरेर बजार आपूर्ति गर्न सक्षम हुने जनाएको छ ।
अहिले देशभर तीव्र रूपमा केरा खेती विस्तार भइरहेको र देशभर ४०-५० लाख बिरुवा विस्तार भइरहेको उल्लेख गरिएको छ । महासंघले कुनै पनि बहानामा विदेशी केरा आयात खुलाउन नहुने र अहिलेको सानो दबाब सहेर अघि बढेमा, निकट भविष्यमा देशले ठूलो उपलब्धि हासिल गर्ने जनाएको छ ।
महासङ्घले यससँगै विभिन्न मागहरू समेत राखेका छन् ।
– बजार अनुगमन प्रभावकारी बनाउने
– केराको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने
– कृषि विमा प्रणालीलाई सरल छिटो र प्रभावकारी वनाउने
– गुणस्तरिय टिसुकल्चर विरुवाको व्यवस्था गर्ने
-रसायनिक मलको सरल आपुर्तीको व्यवस्था गर्ने
– कृषि बीमा प्रणालीलाई सरल, छिटो र प्रभावकारी बनाउने


प्रतिक्रिया दिनुहोस्