आर्थिक वर्ष २०८२/८३ मा धान उत्पादन ४.१६ प्रतिशतले ऋणात्मक हुने अनुमान


काठमाडाैँ । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/८३ काे राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गरेकाे छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ।

कार्यालयले राष्ट्रिय लेखाका स्थिर मूल्यका अनुमान आर्थिक वर्ष २०६७/६८ को मूल्य आधार वर्षमा आधारित रहेकाे छ ।

आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रहेको संशोधित अनुमान छ भने आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ६० अर्ब रहेको जनाइएकाे छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा प्राथमिक क्षेत्रकाे हिस्सा खुम्चिने अनुमान गरिएकाे छ ।

आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.६८ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकाे छ।

कुल गार्हस्थ्य उत्पादनमा यस वर्ष प्राथमिक क्षेत्र (२४.०५ प्रतिशत), द्वितीय क्षेत्र (१३.७ प्रतिशत) र सेवा क्षेत्र (६१.८ प्रतिशत) हिस्सा रहने जनाइएकाे छ । आर्थिक वर्ष २०८१/८२ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा क्रमशः २५.० प्रतिशत, १३.२ प्रतिशत र ६१.८ प्रतिशत योगदान पुर्‍याउने संशोधित अनुमान छ।

आर्थिक वर्ष २०८२/८३ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः १.६३ प्रतिशत, ५.७७ प्रतिशत र ४.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। संशोधित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः ३.०१ प्रतिशत,  ३.४० प्रतिशत र ४.३६ प्रतिशत रहको छ।

आर्थिक वर्ष २०८२/८३ मा कृषि क्षेत्र १.५८ प्रतिशत र गैरकृषि क्षेत्र ४.५४ प्रतिशतकाे वृद्धिदर हुने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर ४.१२ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा कुल मूल्य अभिवृद्धिको सबैभन्दा धेरै वृद्धिदर विद्युत तथा ग्याँस (२०.९३ प्रतिशत) क्षेत्रको हुने प्रारम्भिक अनुमान रहेको छ। यस क्षेत्रलाइ वित्तीय तथा बीमा (९.१६ प्रतिशत) क्षेत्रले पछ्याएर दोस्रो धेरै वृद्धि गर्ने क्षेत्रको रूपमा रहेको छ।

अर्कोतर्फ, सार्वजनिक प्रशासन तथा सुरक्षा (०.२३ प्रतिशत) र शिक्षा (१.५० प्रतिशत) क्षेत्रको वृद्धि तुलनात्मक रूपमा सबैभन्दा कम रहने अनुमान गरिएको छ।

कुल गार्हस्थ्य उत्पादनमा यस वर्ष कृषि, वन तथा मत्स्य क्षेत्र (२४.०३ प्रतिशत) ले र व्यापार क्षेत्र (१४.०९ प्रतिशत) ले तुलनात्मक रूपमा धेरै योगदान गर्ने अनुमान गरिएको छ। अर्कोतर्फ, पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन (०.४० प्रतिशत) र खानी तथा उत्खनन् (०.४३ प्रतिशत); तुलनात्मक रूपमा सबैभन्दा थोरै योगदान गर्ने क्रियाकलाप रहेको अनुमान गरिएको छ।

कृषि, वन तथा मत्स्य

आर्थिक वर्ष २०८२/८३ को कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रले २४.०३ प्रतिशत योगदान पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर १.५८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा कृषि उत्पादनको समग्र प्रवृत्ति मध्यम वृद्धि देखिन्छ। तर धान उत्पादन ४.१६ प्रतिशतले ऋणात्मक हुने र मकै, गहुँ, कोदो, दलहन तथा औद्योगिक बालीहरूमा सामान्य मात्राको वृद्धि हुने अनुमान गरिएको छ। त्यसैगरी, पशुजन्य उत्पादनतर्फ मासु, अण्डा तथा माछा उत्पादनमा पनि सामान्य वृद्धि हुने अनुमान गरिएको छ।

साथै, फलफुल तथा अन्य केही हिउँदे बालीको उत्पादनमा अति न्यून मात्राको वृद्धि हुने अनुमानका कारणले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा न्यून वृद्धि हुने अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

खानी तथा उत्खनन् 

आर्थिक वर्ष २०८२/८३ मा खानी तथा उत्खनन् क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ०.४३ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान गरिएको छ। यो आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा ३.५२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।

निर्माण क्षेत्रमा धनात्मक वृद्धि र खानी तथा उत्खनन्‌ क्षेत्रको रोयल्टी संकलनमा आर्थिक वर्ष २०८१/८२ को तुलनामा सामान्य सुधार भएकोले यस क्षेत्रको मूल्य अभिवृद्धिमा पनि सामान्य सुधार हुने अनुमान छ।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर १.३९ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।

उद्योग

आर्थिक वर्ष २०८२/८३ मा उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ५.७२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.८३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। संशोधित तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर २.२७ प्रतिशत रहने अनुमान गरिएको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्ष यस क्षेत्रको वृद्धिदर ऋणात्मक (-२.०२ प्रतिशत) कायम भएको छ।

खासगरी सिमेण्ट, वनस्पति घिउ, कंक्रीट, भट्टमासको कच्चा तेल, फलामे रड,  खोटो, सुर्तीजन्य पदार्थ, वायरिङ्ग तार, जुट, वियर लगायतका वस्तुको उत्पादनमा भएको वृद्धिले यस क्षेत्रमा सुधार आउने प्रारम्भिक अनुमान गरिएको छ।

साथै, भट्टमासको कच्चा तेल, जस्तापाता तथा फलामे रडको कच्चा पदार्थ, कोईला लगायत कच्चा पदार्थको आयतमा भएको वृद्धि र उत्पादित वस्तुको मागमा भएको वृद्धिका कारणले पनि उद्योग क्षेत्रको उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ।

विद्युत् तथा ग्याँस

आर्थिक वर्ष २०८२/८३ मा विद्युत् तथा ग्याँस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा २.०८ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २०.९३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

यस क्षेत्रमा नयाँ आयोजनाबाट विद्युत् उत्पादन भई विद्युत् उत्पादनको क्षमता वृद्धि हुनु, प्रसारण संरचनाको विस्तार हुनुका साथै उपभोगमा विस्तार भएका कारण यस क्षेत्रको वृद्धि उल्लेख्य रहन गएको देखिन्छ।

आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर १२.७१ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापनतथा पुनःउत्पादनका क्रियाकलाप

आर्थिक वर्ष २०८२/८३ मा पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्रियाकलाप क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.४० प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर १.९९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

सेवा माग र आपुर्तिमा भइरहेको क्रमिक वृद्धिसँगै यस क्षेत्रको कुल मुल्य अभिवृद्धि पनि सामान्य रूपमा बढेको अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर २.०५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

निर्माण

आर्थिक वर्ष २०८२/८३ मा निर्माण क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ५.५२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

निर्माण सामग्रीको आयात र निर्माणजन्य औद्योगिक वस्तुहरूको आन्तरिक उत्पादनमा सामान्य वृद्धि रहेको देखिन्छ। सरकारी क्षेत्रवाट हुने पूँजीगत खर्चमा उल्लेखनीय वृद्धि हुन नसकेको कारण निर्माण क्षेत्रको उल्लेखनीय वृद्धि हुन नसक्ने अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर ०.९६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा

आर्थिक वर्ष २०८२/८३ मा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १४.०९ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.५१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ को तुलनामा व्यापारजन्य वस्तुहरुको आयातमा भएको वृद्धि साथै कृषि तथा व्यापारजन्य वस्तुहरूको आन्तरिक उत्पादनमा आएको वृद्धिले यस क्षेत्रको  मूल्य अभिवृद्धिमा सुधार हुने अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर ३.८८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

यातायात तथा भण्डारण

आर्थिक वर्ष २०८२/८३ मा यातायात तथा भण्डारण क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ७.२३ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ५.७९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

सवारी साधनको आयात, आन्तरिक तथा विदेशी पर्यटकको वृद्धि साथै थोक तथा खुद्रा व्यापार क्षेत्रमा भएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धिमा वृद्धि हुने अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर ७.०७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

आवास तथा भोजन सेवा

आर्थिक वर्ष २०८२/८३ मा आवास तथा भोजन सेवा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा २.४४ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.१२  प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

विदेशी तथा आन्तरिक पर्यटकहरूको वृद्धिले आर्थिक वर्ष २०८२/८३ मा यस क्षेत्रको मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव हुने अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर ४.६१ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

सूचना तथा सञ्चार

आर्थिक वर्ष २०८२/८३ मा सूचना तथा सञ्चार क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १.९३ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ५.५३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा कम्प्यूटर प्रोग्रामिङ् तथा इन्फर्मेशन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोवार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर ४.८८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

वित्तीय तथा बिमा

आर्थिक वर्ष २०८२/८३ मा वित्तीय तथा बिमा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ६.७२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ९.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, निर्जीवन बिमा तथा जिवन बिमाको नवीकरण बिमाशुल्क प्रिमियम कलेक्सनमा वृद्धि तथा सामाजिक सुरक्षा कोष, संचय कोष, नागरिक लगानी कोष तथा धितोपत्र कारोवार व्यवसायिक तथा मर्चेन्ट बैंकहरूको आयमा समेत वृद्धिका कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर ७.५५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

 घरजग्गा कारोवार

आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ८.०७ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.६९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

घर जग्गाको कारोबारमा भएको सामान्य वृद्धि र निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि  सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो।  आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर २.७७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप

आर्थिक वर्ष २०८२/८३ मा पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.९५ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.२७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

पछिल्लो समयमा विभिन्न प्राविधिक कार्यका लागि पेशागत संस्थासँग सेवा लिने प्रवृत्तिमा भएको वृद्धिसगै ति संस्थाहरूको संख्यामा भएको वृद्धिले गर्दा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो  वर्षको  तुलनामा सामान्य बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर ४.०३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

प्रशासनिक तथा सहयोगी सेवा

आर्थिक वर्ष २०८२/८३ मा प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.७४ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.५२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

पछिल्लो समयमा विभिन्न प्रशासनिक सेवाका लागि सम्बन्धित संस्थाहरूसँग सेवा लिने प्रवृत्तिमा भएको वृद्धि, रोजगारी सेवा तथा विदेशी तथा आन्तरिक पर्यटकहरुको वृद्धिले  यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो  वर्षको  तुलनामा बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर ३.७३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

सार्वजनिक प्रशासन तथा रक्षा

आर्थिक वर्ष २०८२/८३ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ७.९२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ०.२३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

तीन वटै तहका सरकारको सार्वजनिक प्रशासन तथा रक्षा अन्तर्गत गरेको खर्चमा भएको नगन्य मात्राको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर न्यून मात्रामा मात्र बढ्ने अनुमान गरिएको छ।  आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर ३.०० प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

शिक्षा

आर्थिक वर्ष २०८२/८३ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ९.२२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर १.५० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा सरकारी शैक्षिक संस्थाका विद्यार्थी सङ्ख्या घटेको तथा निजी शैक्षिक संस्थाका विद्यार्थी न्युन मात्रामा वृद्धि भएको देखिएको र यस क्षेत्रमा सरकारी खर्चमा कमी आएका कारण कुल मूल्य अभिवृद्धिमा सामान्य मात्र वृद्धि हुने अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर २.३६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

स्वास्थ्य तथा सामाजिक कार्य

आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य तथा सामाजिक कार्यसम्बन्धी क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १.७८ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.०४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य सेवा लिनेहरूमध्ये अन्तरंग सेवा लिनेको सङ्ख्या घटेको र बहिरंग सेवा लिनेको सङ्ख्या बढेको कारणले यस क्षेत्रको मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन नसक्ने अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर ४.६९ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।

अन्य सेवाका क्रियाकलाप

आर्थिक वर्ष २०८२/८३ मा अन्य सेवाका क्रियकालाप क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.७२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.६५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

मनोरञ्जनात्मक तथा अन्य सेवामा भएको निरन्तर वृद्धिले यस क्षेत्रको  उत्पादनमा सामान्य  वृद्धि  हुने  अनुमान  गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर ४.०६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।