काठमाडाैँ । खानेपानी मन्त्री निशा मेहताले मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउन सरकारले काम गरिरहेको बताएकी छिन् ।
मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा उनले मेलम्ची परियोजनालाई दीगो र सुरक्षित बनाउन सरकार गम्भिर रहेको बताएकी हुन् ।
मेलम्ची परियोजना काठमाडौं उपत्यकावासीको स्वच्छ खानेपानी पिउने आशाको केन्द्र भएको उल्लेख गर्दे उनले यसमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताइन् ।
मेलम्ची खानेपानी आयोजना अझै पनि विभिन्न समस्या र चुनौतीले घेरिएको अवस्थामा रहेको उनको भनाइ छ । मेलम्चीलाई दिगो र सुरक्षित बनाउने विषयमा मन्त्रालयमा पटकपटक छलफल भइरहेको बताइन् ।
यद्यपि ठोस निष्कर्षमा पुग्न भने बाँकी नै रहेको उनकाे भनाइ छ । परियोजनालाई दीर्घकालीन रूपमा सञ्चालनयोग्य तथा जोखिममुक्त बनाउने उल्लेख गरिन् ।
उनले सरकारको पहिलो प्राथमिकतामा अलपत्र परेका खानेपानी योजनाहरू रहेको पनि जानकारी दिइन् । अलपत्र परेका योजनाहरुको समस्या पहिचान गरी समाधान खोज्ने उनको भनाइ छ ।
उनले भनिन्, “मेलम्ची काठमाडौ उपत्यकाबासीको आशा र भरोसाको परियोजना हो । यसमा अझै पनि धेरै समस्याहरु रहेको छ । यसलाई कसरी दीगो बनाउन सकिन्छ, कसरी यो परियोजनालाई सुरक्षित बनाउन सकिन्छ, भनेर हामी पटक पटक छलफल गरिरहेका छौँ । यसको निचोडमा हामी पुगिसकेका छैनौ । हामीले पहिलो प्राथमिकतामा अलपत्र खानेपानी योजनामा राखेका छौँ । समस्या पहिचान गरि समाधानको लागि हामीले सरोकारवालाहरुसंग गहन रुपमा छलफल गरिरहेका छोँ । खानेपानीमा एकदमै कम बजेट छ, त्यो कम बजेटमा पनि हामीले एकदमै आवश्यक रहेको क्षेत्रका योजनामा काम गरिरहेका छौँ ।”
उनले खानेपानी क्षेत्रमा बजेट अत्यन्त सिमित रहेको उल्लेख गर्दै उपलब्ध स्रोत–साधनलाई अत्यावश्यक योजनामा केन्द्रित गरिएको बताइन् । सिमित बजेटकै बीच पनि नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकार प्रतिबद्ध रहेको उनकाे भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्