सञ्चालनमा आएको बीपी राजमार्ग केही घण्टामै पुनः बन्द


काठमाडौँ । बिहीबार बिहान मात्रै सञ्चालनमा आएको बीपी राजमार्ग केही घण्टामै पुनः बन्द भएको छ । रोशी खोलामा पानीको बहाव बढ्ने संकेत देखिएपछि प्रहरीले दिउँसोदेखि सवारी आवागमन रोकेको हो ।

तीन दिनदेखि अवरुद्ध रहेको राजमार्गमा अस्थायी डाइभर्सन बनाएर बिहान ७ बजेदेखि यातायात सञ्चालन गरिएको थियो । तर रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएसँगै सम्भावित बाढीको जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना जारी गर्दै सडक बन्द गरेको जनाएको छ ।

बीपी राजमार्गको रोशी खण्ड अहिले अस्थायी डाइभर्सनको भरमा सञ्चालन हुँदै आएको छ । सामान्य बाढी आउँदा समेत डाइभर्सन बग्ने समस्या दोहोरिएकाले यात्रु र सवारीसाधन पटक–पटक अलपत्र पर्ने गरेका छन् ।

राजमार्ग बन्द भएपछि लामो दूरीका सार्वजनिक गाडी, मालवाहक ट्रक तथा निजी सवारी काभ्रेको भकुण्डे र सिन्धुलीको नेपालथोकामा रोकिएका छन् ।

प्रहरीले मौसम सामान्य भएपछि मात्रै पुनः सवारी सञ्चालन गरिने जनाएको छ । अत्यावश्यक बाहेक यात्रा नगर्न र यात्रा गर्नुपरे सडकको अवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्न आग्रह गरिएको छ ।