काठमाडौं । सुन्दरीजलको बीपी संग्राहलय नजिकै एउटा थोरै आधुनिक कृषि उद्यम संरचना देखिन्छ ।
त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका सहप्राध्यापक बाबुराम कार्कीको सपना र पसिनाले उभिएको ‘ओजस्वी एकीकृत कृषि फार्म’ कुनै बेला नेपालकै नमुना थियो । ४५० गाई, २८ कामदार र दैनिक दुई हजार लिटर दूधको कारोबार हुने यो फार्म अहिले कृषि उद्यममा संरचनागत संकट झेल्दैछ ।
कोभिड महामारीपछि लामो समय निषेधाज्ञाको सन्नाटा, लम्पी स्किनको महामारी र राज्यको उदासीनताले ४५० गाईलाई ४५ मा झारिदिएको छ । करिब ६ करोड रुपैयाँको लगानी अहिले जोखिममा छ ।
ओखलढुंगाको माटोबाट काठमाडौँ छिरेका सहप्राध्यापक कार्कीले सुरुमा घरायसी प्रयोजनका लागि ३ वटा गाई पालेका थिए । अर्थशास्त्रका सिद्धान्तहरू कक्षाकोठामा पढाउँदा पढाउँदै उनलाई व्यवहारिक उत्पादनमा लाग्ने हुटहुटी चल्यो ।
कार्कीले चक र डस्टर छाडेर गाईपालनको निर्णय गरेपछि धेरैले यसलाई ‘पागलपन’ भनेका थिए । अर्थशास्त्रको सिद्धान्तमा नाफा र घाटाको सन्तुलन मिलाउन सजिलो हुन्छ, तर व्यवहारिक कृषिमा प्रकृति र महामारीसँग जुध्नु अर्को पाटो थियो ।

ओखलढुंगाबाट काठमाडौं आएको कार्की परिवारले सुरुमा भक्तपुरमा घरायसी प्रयोजनका लागि ३ वटा गाई पालेको थियो । तर, दूधको माग बढ्दै गएपछि खरीपाटी हुँदै सुन्दरीजलको १०० रोपनी जग्गामा यो फार्म विस्तार भयो ।
वार्षिक २८ लाख रुपैयाँ जग्गाको भाडा तिर्ने गरी सुरु भएको यो फार्ममा कार्कीले आफ्नो जीवनभरको कमाइ र बैंकको ऋण खन्याएका थिए । इजरायली प्रविधिको प्रयोग र दैनिक २,००० लिटर दूध उत्पादन गर्ने यो फार्मले छोटो समयमै निकै ख्याति कमाएको थियो ।
फार्मको कथामा आगलागी एउटा दुखद मोड बनेर आयो । २०७४ असार ३ गते बिहान ११ बजे, जब कामदारहरू बिहानको सिफ्ट सकेर आराम गर्दै थिए, विद्युत सर्ट भएर फार्ममा आगलागी भयो । मात्र ३ मिनेटमा फार्म खरानी भयो ।
त्यो बेला फार्ममा १२२ गाई थिए । दाम्लोमा बाँधिएका गाईहरू भाग्न पाएनन् र आँखा अगाडि ९७ वटा गाई जलेर मरे । “त्यो दृश्य सम्झिँदा अहिले पनि मुटु काँप्छ,” कार्कीले भने । झन्डै साढे ४ करोडको क्षति भयो, तर बिमाबाट जम्मा ६० लाख मात्र आयो । राज्यले राहतको नाममा ४ लाख दियो, जबकि मरेका गाई गाड्न मात्र १० लाख खर्च भएको फार्मकी सञ्चालिका अनिता पौडेल कार्की बताउँछिन् ।
त्यतिबेला धेरैले ठानेका थिए, कार्की अब सकिए । तर, उनी खरानीबाट फेरि उठे । सवा दुई करोड ऋण लिएर उनले सुन्दरीजलमा अझ आधुनिक संरचना ठड्याए र गाईको संख्या ४५० सम्म पुर्याए ।
जब फार्म लयमा फर्कँदै थियो, विश्वव्यापी कोभिड–१९ महामारीले अर्को बज्रपात ल्यायो । २०७६ को चैतदेखि सुरु भएको लकडाउनले बजार ठप्प पारिदियो। होटल, रेस्टुरेन्ट र विद्यालयहरू बन्द भएपछि दूधको माग ७० प्रतिशतले घट्यो ।
“गाईले लकडाउन बुझ्दैनन्, तिनलाई दाना खुवाउनै पर्छ, दूध उत्पादन भइरहन्छ,” ओजस्वी फार्मको व्यवस्थापन सम्हाल्ने अनिता सम्झिन्छन् । दूध बिक्री नभएर ‘मिल्क होलिडे’ सुरु भयो, तर दानाको मूल्य भने आकासियो । आम्दानी शून्य तर खर्च दोब्बर भएपछि फार्मको आर्थिक मेरुदण्ड चर्कन थाल्यो ।
कोभिडको मारबाट तंग्रिन नपाउँदै २०८० मा फैलिएको ‘लम्पी स्किन’ रोगले ओजस्वी फार्मको मुटुमै प्रहार गर्यो । यो भाइरल रोगले ४० वटा उन्नत जातका गाई मरे। होलिस्टिन-फ्रिजियन जस्ता संवेदनशील नश्लका गाईहरूमा यो रोगको मृत्युदर बढी देखियो।
रोगबाट बाँचेका गाईहरूले पनि दूध दिन छाडे । “एउटा गाई मर्दा २ लाखको प्रत्यक्ष नोक्सानी मात्र हुँदैन, त्यसले दिने भविष्यको आम्दानी पनि सकिन्छ,” अनिता भन्छिन। यही महामारीकै बीचमा फार्मको कुल ४५० गाईको बथान बिस्तारै घटेर ४५ मा झर्न पुग्यो । ऋणको किस्ता तिर्न र बाँकी गाईलाई दाना खुवाउन वैकल्पिक स्रोतबाट जोहो गर्नुपर्ने बाध्यता आयो ।
कार्कीका अनुसार अहिले दैनिक २५० लिटर हाराहारीमात्र दूध उत्पादन भइरहेको छ जुन फर्मको नियमित सञ्चालनका लागि खर्च जुटाउन पनि अपुग हुन्छ । तर संकटको बेला बैंकको ब्याजदर र राज्यको प्रक्रियागत झन्झटले उद्यमीलाई सडकमा पुर्याउने जोखिम बढेको छ ।

“गाईको संख्या ४५ मा झरेपछि १०० रोपनी जग्गाको भारी भाडा र २८ जना कर्मचारीको आधारभूत खर्च कुल आम्दानीभन्दा बढी हुन थाल्यो,” कार्की भन्छिन, “जसले गर्दा बढ्दो ऋणको चक्र सिर्जना भयो र हामीलाई वैकल्पिक स्रोतबाट जोहो गर्नुपर्ने बाध्यता आयो।”
अहिले फार्मको अवस्था सुस्त छ, तर मनोबल गिरेको छैन । ओजस्वी एकीकृत कृषि फार्मकी अध्यक्ष अनिता पौडेल कार्की वर्तमान संकटलाई केवल एक ‘प्राविधिक विश्राम’ मान्छिन् ।
“अहिले हाम्रो फार्म केही प्राविधिक र आर्थिक कारणले खस्केको पक्कै हो,” अध्यक्ष कार्की भन्छिन्, “तर यसको अर्थ हामी हारेका हौँ भन्ने होइन । काठमाडौँमा दूध र दुग्धजन्य पदार्थको बजार व्यापक छ । मागअनुसारको आपूर्ति अझै हुन सकेको छैन ।”
आगलागीपछि फर्मलाई अत्याधुनिक बनाउनका लागिमात्र ३ करोड रुपैयाँ बराबर खर्च गरिएको, सँगै आफ्नै डेरी उद्योग चलाउनका लागि करिब १ करोड रुपैयाँको लागतमा आधुनिक पूर्वाधार तयार पारिएको कार्कीले जानकारी दिइन ।
अनिताका अनुसार, ६ करोडको लगानीलाई जोगाउन र फार्मलाई पुरानै लयमा फर्काउन अहिले ‘रणनीतिक साझेदारी’को आवश्यकता छ । “हामी लगानी विस्तारका लागि नयाँ साझेदारीको खोजीमा छौँ,” उनी स्पष्ट पार्छिन्, “विगतमा हामी जसरी खरानीबाट उठेका थियौँ, थोरै मात्र साथ र सहयोग भयो भने त्यो भन्दा बलियो गरी उठ्न सक्छौँ भन्नेमा हामीलाई पूर्ण विश्वास छ ।”
कार्कीको अनुभवमा सरकारी नीतिहरू कागजमा ‘कृषि प्रधान’ छन्, तर व्यवहारमा ‘कृषक विरोधी’ देखिए। “सरकारसँग हामीले नगद अनुदान माग गरेको होइन, केबल विशेष परिस्थितिमा ब्याजदर सहुलियत दिइ रुग्ण उद्योगमा राखी ऋण भुक्तानीका पुनर्तालीकरण (रिसेड्युल) गर्न सरकारले सहजीकरण गरिदिए हामीजस्ता सयौँ कृषिमा आधारित साना उद्यमलाई सहयोग पुग्ने थियो,” उनले भनिन ।



प्रतिक्रिया दिनुहोस्