सार्वजनिक यातायातलाई मर्यादित र उच्चपदस्थले चढ्ने योग्य बनाउनुपर्छः सभापति गजुरेल


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सार्वजनिक यातायातलाई उच्चपदस्थ अधिकारीहरूले समेत प्रयोग गर्नसक्ने गरी मर्यादित र भरपर्दो बनाउनुपर्ने बताएका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सार्वजनिक यातायातको सुधार नै समृद्धिको आधार भएको बताएका छन् । सांसद गजुरेलले हालको सडक पूर्वाधार र लगानी निजी सवारी साधनमुखी भएकोमा चिन्ता व्यक्त गरे ।

उनले अबका सडक र यातायात प्रणाली ‘मानवमैत्री’ हुनुपर्ने र त्यसमा सार्वजनिक यातायातको भुमिका प्रमुख हुनुपर्ने बताए । सांसद गजुरेलले यातायात क्षेत्रमा देखिएका विकृति र सिन्डिकेटको अन्त्यका लागि सरकारले निगरानी गर्ने उल्लेख गरे । उनले सवारी दुर्घटना न्युनिकरणका लागि सवारी साधनलाई दुरुस्त अवस्थामा राख्न र सडक सुरक्षाका मापदण्ड पालना गर्न व्यवसायीहरूलाई आग्रह गरे ।

यातायात क्षेत्रमा व्यवसायीहरूको १३ खर्ब रूपैयाँ लगानी रहेको र ११ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको तथ्यलाई स्मरण गराउँदै उनले यस क्षेत्रका समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताए । संघीय र प्रदेश सरकारबीच कार्यक्षेत्रको विषयमा देखिएका केही विवाद सुल्झाउन ‘सार्वजनिक यातायात प्राधिकरण’ मार्फत कानूनी सुधारको प्रक्रिया अगाडि बढिसकेको उनले जानकारी दिए । 

उनले भने, “मैले सार्वजनिक बसमा यात्रा गरिरहँदा सर्वसाधारणले एक सांसदले यसरी यात्रा गर्छन् भन्ने विश्वास नै गर्न सकेनन् । यसले के देखाउँछ भने हामीले हाम्रो सार्वजनिक यातायातलाई अझै पनि सबैको रोजाइ र चढ्न योग्य बनाउन सकेका छैनौँ । हामीले नीतिगत तहमा काम गर्छौँ, तपाईंहरू व्यवस्थापनको तहमा काम गर्नुहोस् । सार्वजनिक यातायातलाई यस्तो बनाऔँ कि हामी सबैले आफ्ना निजी सवारी साधन छोडेर सार्वजनिक बस चढेर कार्यालय जान सकौँ ।”

यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन सीसीटीभी जडान, जीपीएस प्रणालीको कार्यान्वयन र डिजिटल भुक्तानीलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउनुपर्ने नियम कार्यान्वयनका लागि छलफल भइरहेको र दुर्घटनाग्रस्त क्षेत्रमा उद्धारका लागि सञ्चार नेटवर्क विस्तार गर्न सञ्चार मन्त्रालयसँग समन्वय भइरहेको पनि उनले बताए ।

सांसद गजुरेलले सडक सुरक्षा, सार्वजनिक यातायातमा सुधार र गुणस्तरीय पूर्वाधार निर्माणलाई आफूले प्रमुख एजेण्डा बनाएको उल्लेख गर्दै यी योजना सफल पार्न सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गरे ।