खेतीवालीमा उन्नतस्तरको प्रविधि भित्र्याउनका लागि चीन सरकारसँग हातेमालो गर्दै अघि बढ्छौँः मन्त्री पौडेल


काठमाडाैँ । वागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री मधुसुधन पौडेलले उन्नत स्तरको खेतीवालीका लागि चीन सरकारसँग हातेमालो गर्दै अघि बढनुपर्नेमा जोड दिएका छन् ।

आइतबार ललितपुरको वडा नम्बर २१ र दक्षिणकाली नगरपालिकाको विभिन्न स्थानहरूमा चिनियाँ लगानी निर्माण गर्न लागिएको ग्रिन हाउस तरकारी खेती नमूना स्थलको शिल्यान्यास गर्दै उहाँले सो कुरा बताएका हुन् ।

चीनले विश्वमा नै उन्नत स्तरको प्रविधिबाट खेती गर्ने गरेकाले त्यसबाट नेपालले पनि सिकेर अघि बढ्नसके ठूलो उपलब्धि हात पार्ने बताए । मन्त्री पौडेलले चीन सरकारको सहयोगमा निर्माण हुन लागेको सो नमुनास्थल आम नेपाली किसानहरुका लागि फलदायी हुने विश्वास समेत व्यक्त गरे । उनले नेपालले खेतीवालीका लागि चीन सरकारसँगको सहकार्यमा अझ जोड दिएर लाग्नुपर्ने अवस्था रहेको बताए । 

 मन्त्री पौडेलले भने, “कृषिमा अहिले नयाँ नयाँ प्रविधि आइसक्यो । चीन संसारको अन्त्यन्त उन्नत मुलुकमा उच्चस्तरको प्रविधिबाट खेती गर्ने एउटा मुलुक र हामी एउटा भर्खरभर्खर बामे सर्न लागेको नेपाली प्रविधि यसमा समायोजना गरेर हामीले अझ धेरै सिक्न सक्छौँ, जान्नसक्छौँ भन्ने मलाई लागेको छ । यसका बारेमा वागमती सरकार पनि चिनियाँ सरकारसँग यस्ता तालिम केन्द्रहरु स्थापना गर्ने र यसमार्फत नेपाली किसानहरुका लागि, बागमती प्रदेशका सबै जिल्लाका किसानहरुलाई पनि यो फलदायी बन्न सकोस । त्यस हिसावले यसको विकास गरेर लैजान सक्नु पर्दछ । यसका लागि वागमती प्रदेश सरकार चिनियाँ सरकारसँग हातेमालो गरेर अगाडि बढन तयार छ ।”

त्यस अवसरमा मन्त्री पौडेलले वागमती प्रदेश सरकारले पनि खेतीवालीमा नयाँ नयाँ प्रविधि भित्र्याउने कुरालाई प्राथमिकता दिएको दावी समेत गरे ।