काम छोडेर निर्माण व्यवसायीहरु आन्दोलनमा, सडक विभाग र सिंचाई विभागलाई दिए ज्ञापनपत्र


काठमाडाैँ । इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले सडक विभाग, जलस्रोत विभागमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना दिएको छ । 

अत्यधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासंघ र सोसँग सम्बन्धित एशोसिएट सदस्य समन्वय समितिले बिहीबार धर्ना दिएका छन् । व्यवसायीहरूले सडक विभागका महानिर्देशक विजय जैसी र सिचाइ विभागका उपनिर्देशक डाक्टर सन्तोष कैनीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

महासंघका महासचिव शिवहरी घिमिरेले सरकारले आफ्ना मागहरु सम्बोधन नगरेकाले आफूहरु आन्दोलित बनेको बताए। उनकाअनुसार निर्माण व्यवसायीहरु मूल्यवृद्धिका कारण चरम संकटमा परेका छन् । त्यसकारण बढेको बजार भाउ अनुसार ठेक्काको मूल्य पनि समायोजन गरिनुपर्छ ।

काम रोकिएका आयोजनाहरूको म्याद थप गरी २०८४ असारसम्म काम गर्ने वातावरण मिलाउनुपर्छ । आगामी बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था गरिनुपर्छ । आन्दोलनकै बिचमा व्यवसायीहरूमाथि भइरहेको धरपकडप्रति पनि उनले आपत्ति जनाउनुभयो अनुसन्धानको नाममा व्यवसायीलाई दुःख दिँदा लगानीको वातावरण बिग्रने उनको भनाइ छ । 

उनकाअनुसार महासंघले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनेलगायतका आन्दोलनका कार्यक्रम तय गरिसकेको छ । इन्धनको मूल्यवृद्धिका कारण सिमेन्ट, डण्डी, बालुवाजस्ता निर्माण सामग्रीको मूल्य बढेको र बिटुमिनलगायतको अभावका कारण पनि निर्माण कार्यमा प्रत्यक्ष असर गरेको निर्माण व्यवसायीको निष्कर्ष छ ।

मूल्य समायोजन निर्देशिका तत्काल ल्याउनुपर्ने , मूल्यवृद्धिका कारण परेको असरमा सहुलियत दिनुपर्ने माग सम्बोधन नभएसम्म काम अघि नबढाउने व्यवसायीहरुको भनाइ छ ।