काठमाडाैँ । निजी अस्पतालहरूकाे संस्थाहरूकाे एसाेसिएसन अफ प्राइभेट हेल्थ इस्न्टिच्युसन अफ नेपाल (अफिन) का पदाधिकारीले बजेटकाे पूर्वसन्धानमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेकाे छन् ।
अध्यक्ष डा. पदम बहादुर खड्काकाे नेतृत्वमा अफिनका पदाधिकारी तथा सदस्यहरूकाे प्रतिनिधिमण्डलले भेट गरि स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाइ राष्ट्रिय प्राथमिकतामा राख्दै स्वास्थ्य उपकरण तथा कर सम्बन्धि सहुलियत लगायतका विषयमा ध्यानकर्षण गराएका हुन् ।
अस्पतालहरूले आयात गर्ने सम्पूर्ण स्वास्थ्य उपकरण तथा मेसिनरीमा भन्सार तथा भ्याट छुट व्यवस्था, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक स्वास्थ्य उपकरणमा पूर्ण वा विशेष राजस्व छुट व्यवस्था गर्न अनुराेध गरिएकाे छ ।
“रुग्ण अवस्थामा रहेका अस्पतालहरूलाई पुनर्कर्जा तथा उद्योगसरह विशेष सुविधा उपलब्ध गर्न अनुरोध गर्दछौँ । अस्पतालले आफ्नो नाममा खरिद गर्ने जग्गामा हदबन्दी छुट व्यवस्था गर्न अनुरोध गर्दछौँ” बजेटक लागि सुझावपत्रमा भनिएकाे छ, “ स्वास्थ्य क्षेत्रमा गरिएको लगानीलाई प्राथमिकता प्राप्त लगानीका रूपमा मान्यता दिई बैंक तथा वित्तीय संस्थामार्फत सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्न अनुरोध गर्दछौँ।”
अफिनले नेपाल सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रमलाई सबै निजी अस्पतालहरूमा समेत विस्तार गर्नसमेत अनुराेध गरेकाेछ ।
सामाजिक सुरक्षा कोष अन्तर्गत प्रदान गरिने स्वास्थ्य सेवामा निजी स्वास्थ्य संस्थाहरूको प्रभावकारी तथा दिगो सहभागिता सुनिश्चित गर्न सेवा दर पुनरावलोकन, लागत अनुसार भुक्तानी तथा निजी क्षेत्रमैत्री स्पष्ट नीति अवलम्बन गर्न अनुराेध गरिएकाे छ ।
डिजिटल स्वास्थ्य पूर्वाधारमा प्रोत्साहन प्रदान गर्न माग गरिएकाे छ । इएमआर/एएचआर प्रणाली, हस्पिटल इआरपी, टेलिमिडिसिन, डिजिटल फार्मेरी तथा साइबर सुरक्षा लगायतका डिजिटल स्वास्थ्य पूर्वाधारमा लगानी गर्ने स्वास्थ्य संस्थाहरूलाई कर छुट, सहुलियतपूर्ण कर्जा, सफ्टवेयर तथा प्रविधि आयातमा भ्याट तथा भन्सार छुट गर्न सहुलियत उपलब्ध गराउने माग अफिनकाे छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीको कर सम्बन्धी स्पष्ट नीतिको निर्माण, अस्पताल नवीकरण तथा लाइसेन्स प्रक्रियामा सरलीकरण, सामाजिक सुरक्षा कोष सम्बन्धी व्यवस्था सुधार, एम्बुलेन्स तथा स्वास्थ्य सवारी सुविधाको पुनःस्थापना लगायतका विषयमा बजेटमा समावेस गर्ने विषय सुझावका रूपमा पेस गरिएकाे हाे ।
देशभर करिब ३०० निजी स्वास्थ्य संस्थाहरू अफिनमा आवद्ध छन् । आवद्ध संस्था अन्तर्गत ४०० भेन्टिलेटर, एक हजार ७०० आइसियू बेड २० हजार प्यारामेडिक्स सेवा उपलब्ध छ भने ४० हजार स्वास्थ्यकर्मी तथा करिब ७० हजार अन्य कर्मचारी आवद्ध छन् । वार्षिक रूपमा करिब ८० लाखभन्दा बढी सेवाग्राहीलाई सुलभ दरमा स्वास्थ्य सेवा प्रदान भइरहेको अफिनले जनाएकाे छ ।
विभिन्न मेडिकल, डेन्टल तथा नर्सिङ शिक्षण संस्थाहरूले नेपाल सरकारबाट अतिरिक्त आर्थिक अनुदान नलिई १० देखि २० प्रतिशतसम्म विद्यार्थीहरूलाई निःशुल्क अध्ययनको अवसर प्रदान गर्दै आएका छन्। निजी स्वास्थ्य संस्थाहरूले आफ्नो कुल सेवा क्षमताको १० देखि २० प्रतिशतसम्म सेवा विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकहरूलाई निःशुल्क उपलब्ध गराउँदै आएको अफिनले जनाएकाे छ ।
अर्थमन्त्रालयमा पुग्ने प्रतिनिधिमण्डलमा उपाध्यक्ष प्राे. श्यामकृष्ण जाेशी, सदस्य डा. आर पि चाैधरी, सदस्य श्रीमति सतिदेवी गाैतम लगायत थिए । ग्राण्डी अस्पतालका शैलेश वैद्य संयाेजकत्वमा अफिनकाे बजेट सुझाव समिति गठन गरिएकाे थियाे ।
अर्थमन्त्रीले सबै कुरा ध्यानपूर्वक सुनेर आवश्यक व्यवस्था गर्ने प्रतिकृया दिएकाे अफिनका कार्यकारी प्रमुख मणि पाैडेलले बताए ।



प्रतिक्रिया दिनुहोस्