काठमाडाैँ । म्यानमारले कृषि उत्पादनको सुरक्षा सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय निर्यात मापदण्डलाई सुदृढ बनाउन ‘असल कृषि अभ्यास’ (जीएपी) प्रणालीलाई तिब्रता दिएको छ ।
याङ्गुनमा आयोजित जिएपी प्रमाणपत्र वितरण समारोहमा युनियन अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (यूएमएफसीसीआई) का उपाध्यक्ष उ ये मिन आङले यसबारे जानकारी दिएका हुन् ।
उपाध्यक्ष आङकाअनुसार म्यानमारमा जीएपी प्रणाली विगत १० वर्षदेखि प्रचलनमा रहे पनि पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा खाद्य सुरक्षाको महत्त्व बढेसँगै यसको आवश्यकता अपरिहार्य बनेको छ ।
कृषि विभागले जारी गर्ने यस्ता प्रमाणपत्रहरू कृषकहरूको हितका लागि लक्षित रहेको बताउँदै उनले निर्यातकर्ता कम्पनी, कृषक र सरकारबिचको सहकार्य सुदृढ भएमा कृषि निर्यातलाई दोब्बर बनाउनुका साथै किसानको आम्दानीमा उल्लेख्य वृद्धि गर्न सकिने विश्वास व्यक्त गरे ।
म्यानमारको कृषि निर्यातमा धानपछि गेडागुडीको हिस्सा दोस्रो ठूलो छ, जसले कुल खेतीयोग्य जमिनको करिब २० प्रतिशत ओगटेको छ । त्यसमध्ये हरियो मुगीको दाल (ग्रिन मुङ बिन्स) निर्यातका लागि सबैभन्दा बढी सम्भावना बोकेको बाली मानिन्छ। वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत रहेकाले हाल हरियो मुगीको खेतीमा जीएपी प्रणालीलाई विशेष प्राथमिकताका साथ प्रवद्र्धन गरिँदैछ ।
जिएपी प्रणाली अपनाएका कृषकहरूकाअनुसार यो पद्धतिले खाद्य सुरक्षा र जनस्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ। विषादीको अनावश्यक प्रयोग नियन्त्रण हुँदा र हानिकारक रासायनिक अवशेषहरू कम हुँदा उपभोक्ताले स्वस्थकर खाद्यान्न पाउने र अन्तर्राष्ट्रिय बजारमा उत्पादनको माग समेत बढ्ने कृषकहरूको अनुभव छ ।
हाल केही निर्यातकर्ता कम्पनीहरूले जीएपी संरचना अन्तर्गत ‘करार खेती’ (कन्ट्रयाक्ट फार्मिङ) प्रणाली समेत लागू गरेका छन् । यसबाट किसानहरूले प्राविधिक सहयोग, गुणस्तरको सुनिश्चितता र स्थिर बजार पहुँचका साथै राम्रो आम्दानी प्राप्त गरिरहेका छन् ।
म्यानमारबाट जीएपी प्रमाणित मुगीको दाल हाल चीन, इन्डोनेसिया, भियतनाम, जापान र विभिन्न युरोपेली मुलुकहरूमा निर्यात भइरहेको छ । आर्थिक वर्ष २०२५–२०२६ का लागि म्यानमारले ४ लाख मेट्रिक टनभन्दा बढी मुगीको दाल निर्यात गरी करिव ५० करोड अमेरिकी डलर वैदेशिक मुद्रा आर्जन गर्ने लक्ष्य राखेको छ ।



प्रतिक्रिया दिनुहोस्