काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो दुई महिनामा विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले बढेको हो ।
गत असार मसान्तमा कुल विदेशी मुद्रा सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा समेत विदेशी मुद्रा सञ्चिति ४।६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड डलर पुगेको छ ।
विदेशी मुद्रा सञ्चितिमा भएको वृद्धिसँगै नेपालको आयात धान्न सक्ने क्षमता पनि बढेको छ । समीक्षा अवधिसम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चितिले २०।९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।
भदौ मसान्तमा विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ६१.६ प्रतिशत पुगेको छ । त्यस्तै, कुल आयातको तुलनामा सञ्चितिको अनुपात १४८.५ प्रतिशत र विस्तृत मुद्राप्रदायको तुलनामा ४४.९ प्रतिशत रहेको छ । गत असार मसान्तमा यी अनुपात क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत थिए ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको विदेशी मुद्रा सञ्चिति ३६ खर्ब १० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो सञ्चिति ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ थियो । त्यस्तै, राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति ७।२ प्रतिशतले बढेर चार खर्ब ५५ अर्ब एक करोड रुपैयाँ पुगेको छ । कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१।३ प्रतिशत रहेको छ ।
यसैबीच, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा चालु खाता एक खर्ब ६९ अर्ब चार करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ३० अर्ब ९७ करोड रुपैयाँले बचतमा थियो ।
त्यस्तै, मुलुकको शोधनान्तर स्थिति एक खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत एक खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा शोधनान्तर बचत एक अर्ब २३ करोड पुगेको छ ।
समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) एक अर्ब २७ करोड रुपैयाँबाट बढेर दुई अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यद्यपि, खुद पुँजीगत ट्रान्सफर भने अघिल्लो वर्षको दुई अर्ब २० करोड रुपैयाँबाट घटेर एक अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ ।
चालु खाता र शोधनान्तर दुवै बचतमा रहनु तथा विदेशी मुद्रा सञ्चिति बढ्नुले बाह्य क्षेत्रका प्रमुख सूचकमा सुधार देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्