सरकारको प्राथमिकतामा गरिब, सीमान्तकृत र विपन्न परेनन् : सांसद रिजाल


काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद घनश्याम रिजालले गरिब, सीमान्तकृत र विपन्न नागरिक सरकारको प्राथमिकतामा नपरेको बताएका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथीको छलफलमा उनले बजेटको दृष्टिकोण गरिबमुखी नभएको आरोप लगाएका हुन् ।

उनले बजेटका सिद्धान्त र प्राथमिकता कर्णप्रिय भएपनि संविधानको मार्गदर्शन, देशको आवश्यकता र जनताको समस्याको समाधानतर्फ मौन रहेको बताए । प्रधानमन्त्रीप्रति व्यंग्य गर्दै ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीतको रिमेक गाएको भएर प्रधानमन्त्रीले गरिबको वास्तविक पीडा बुझ्न नसकेको उनले टिप्पणी गरे ।

उनले बजेटका सिद्धान्त र प्राथमिकता आफैं अलमलिएको दस्तावेज बनेको उल्लेख गरे । उनले दस्तावेजमा विपन्न भन्ने शब्दसमेत उल्लेख नभएको बताए । दलित समुदायको नाम औपचारिक रूपमा मात्र समेटिएको, मधेसका केही आयोजना उल्लेख भएपनि मधेसी समुदायको सवाल नआएको उनको भनाइ थियो ।

त्यस्तै, विकट क्षेत्र, सीमान्तकृत समुदाय, अल्पसंख्यक थामी, जिरेल, सुरेल, राउटे लगायतका लोपोन्मुख समुदाय सरकारको प्राथमिकतामा नपरेको उनको भनाइ छ । मुक्त कमैया, कमलरी, हरुवा–चरुवा समुदायको उत्थानका लागि समेत सरकार गम्भीर नदेखिएको उनले बताए । 

उनले बजेटका सिद्धान्त र प्राथमिकताले पूर्वाधार र आर्थिक विकासमा केही बोलेको भएपनि सामाजिक विकासमा ध्यान नदिएको बताए ।