विवादमा तानिए नेप्सेका सिइओ चापागाईं,जानकारी नदिई बुकबिल्डिङमार्फत सरकारी सम्पत्ति हेरफेर गर्न खोजेको आरोप


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जका सिइओ चुडामणि चापागाईं विवादमा तानिएका छन् ।

नेपाल चिया विकास निगमलाई ‘गैरकानुनी’ रूपमा बुकबिल्डिङ प्रणाली मार्फत आइपिओ ल्याउन भित्रभित्रै सहयोगी भूमिका खेलेको उजुरी परेपछि सिइओ चापागाईं विवादमा तानिएका हुन् ।

कौडीको भाउमा सरकारी जग्गा भाडामा लिएको आरोप लागेको त्रिवेणी ग्रुपले पछिल्लो समय चिया विकास निगमको बुक बिल्डिङमा आइपिओ जारी गर्न खोजेको छ ।

यसका लागि नेप्सेसँग वैशाखमा सम्झौता भएको थियो । सम्झौतापछि अख्तियारदेखि अर्थ मन्त्रालयसम्म उजुरी परेको छ । निगममा त्रिवेणी ग्रुपको ६५ प्रतिशत र बाँकी स्वामित्व सरकारका विभिन्न निकायको नाममा छ ।

सरकारको पनि स्वामित्व रहेको कम्पनीको सेयर जारीको सम्झौता गर्दा अर्थ मन्त्रालयसँग अनुमति नलिई सिइओ चापागाईंले सम्झौता गरेको आरोप लागेको छ । कम्पनीले सरकारी जग्गाको भाडा तिर्न समेत बाँकी छ ।

भाडावापतको बक्यौता रकम नतिरेको कम्पनीको बुकबिल्डिङमा आइपिओ जारी गर्न सिइओले शङ्कास्पद भूमिका खेलेको उजुरीमा उल्लेख छ ।

सिइओ चापागाईंले कम्पनी लिस्टिङ् गर्दा आर्थिक लाभ लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । चापागाईंले ओटिसी र दोस्रो बजारमा कम्पनी सूचीकृत गर्दा आर्थिक लाभ लिएको भन्दै चापागाईंविरुद्ध उजुरी परेको हो ।

स्रोतका अनुसार प्रविधि सम्बन्धी कम्पनीलाई ओटिसीमा लिस्टिङ गर्दा र यो बिचमा अन्य केही कम्पनीलाई सूचीकृत गर्दा आर्थिक लाभ लिएको उजुरीमा उजुरी परेको थियो ।

सिइओ चापागाईंले भने उजुरीमा उल्लेख भएको विषयमा कुनै सत्यता नभएको दाबी गरे ।

चिया विकास निगमको पनि आफूले नियम कानुनअनुसार नै सम्झौता गरेको दाबी गरे । उनले भने,“ नियमअनुसार नै सम्झौता गरेको हो । यसमा मेरो गलत मनासय केही छैन । अब सम्बन्धित निकायले ठिक छ कि छैन हेर्ला ।”