काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इजरायल र इरानबिच जारी युद्ध अन्त्य गर्न भइरहेको वार्तामा सहमति नजिक पुगेको बताएका छन् ।
उनले आफूहरू सम्झदारी पत्रमा धेरै हदसम्म सहमति नजिक पुगेको बताएका छन् । समझदारी पत्रमा स्ट्रेट अफ हर्मुज पुन : खुला गर्ने विषय समेत समावेश हुने बताएका छन् ।
सम्झौता अमेरिकी, इरानी वार्ताकारहरू तथा मध्यस्थकर्ता मुलुकहरूद्वारा अन्तिम रूप दिन बाँकी रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, पाकिस्तान, जोर्डन, इजिप्ट, टर्की र बहराइनका नेताहरू तथा अधिकारीहरूसँग टेलिफोन वार्ता गरेपछि उक्त घोषणा गरेका हुन् ।
उनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग पनि छुट्टै फोन वार्ता गरेको बताएका छन् । उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्दै भनेका छन्,“सम्झौताको अन्तिम पक्षहरू र विवरणहरू अहिले छलफलमा छन्, र छिट्टै घोषणा गरिनेछ ।”
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आफ्नो देशले दुवै पक्षबीच संवाद सहज बनाउन निरन्तर प्रयास जारी राख्ने बताएका छन् र निकट भविष्यमै अमेरिका–इरान वार्ता आयोजना गर्न सक्ने आशा व्यक्त गरेका छन् ।
टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोगानले फोन वार्तापछि जारी वक्तव्यमा वार्ताको प्रगतिप्रति सन्तोष व्यक्त गरेका छन् ।
उनले कुनै पनि सम्झौताले हर्मुजमार्फत स्वतन्त्र आवागमन सहज बनाउने बताए तर त्यो कसरी कार्यान्वयन गरिनेछ भन्ने विषयमा विस्तृत जानकारी भने दिएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्