काठमाडाैँ । इलाममा सञ्चालित चिया तथा दुग्धजन्य उद्योगहरूले उचित बजारीकरणको अभाव झेल्नुपरेको भन्दै नेपाली काँग्रेसका सचेतक निश्कल राईले सरकारको ध्यानाकर्षण गराएका छन् ।
उद्योगहरूको सङ्ख्या उल्लेख्य भएपनि किसान र उद्यमीले उत्पादनको तुलनात्मक प्रतिफल पाउन नसकेको उनले बताएका हुन् । इलामको औद्योगिक अवस्थाबारे जानकारी दिँदै सचेतक राईले त्यहाँ १५ भन्दा बढी चिया कारखाना, १५० भन्दा बढी छुर्पी उद्योग र सयौँको सङ्ख्यामा दुग्ध मिठाई (ललिपप) उद्योगहरू सञ्चालनमा रहेको उल्लेख गरे ।
यति ठूलो सङ्ख्यामा उद्योगहरू भएपनि उत्पादित वस्तुको उचित व्यवस्थापन र बजार प्रवद्र्धन हुन नसक्दा किसान मर्कामा परेका छन् ।
विशेषगरी दुग्ध क्षेत्रमा देखिएको समस्याबारे बोल्दै उहाँले सरकारी निकाय दुग्ध विकास संस्थान (डीडीसी) ले नै किसानको भुक्तानी रोकेको आरोप लगाए ।
उनले भने, “डीडीसीकै तथ्याङ्कअनुसार किसानले साढे तीन महिनादेखिको भुक्तानी पाएका छैनन् । अहिले किसानले झन्डै ५० करोड रुपैयाँ पाउन बाँकी छ ।”
लामो समयसम्म उत्पादनको मूल्य नपाउँदा किसानहरूको दैनिक जनजीवन र व्यवसायिक चक्र नै प्रभावित भएको उनको भनाइ छ । भुक्तानी अभावका कारण व्यावसायिक पशुपालन गरिरहेका किसानलाई बैंकको किस्ता तिर्न र पशु आहार खरिद गर्न समेत धौ–धौ परेको राईले बताए ।
उचित बजारीकरणको सुनिश्चितता र रोकिएको रकम तत्काल उपलब्ध गराई किसानको समस्या समाधान गर्न उनले माग गरे ।



प्रतिक्रिया दिनुहोस्