कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दो


काठमाडौँ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गएको भएपनि अर्थतन्त्रको मुख्य सम्वाहकको रुपमा कृषि क्षेत्र नै रहेको छ।

गत आर्थिक वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धि ३.०५ प्रतिशतले वृद्धि भएकोमा चालु आर्थिक वर्ष यस्तो वृद्धिदरमा कमी आई १.५८ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ।

धान उत्पादनमा आएको कमी, अन्य प्रमुख खाद्यान्न बाली, मासु, अण्डा, माछा उत्पादनमा भएको सामान्य वृद्धि लगायतका कारण कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर गत वर्षभन्दा कम हुने अनुमान गरिएको हो ।

गत आर्थिक वर्ष खानी तथा उत्खनन् क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर १.३९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष यस्तो वृद्धिदर ३.५२ प्रतिशत रहने अनुमान गरिएको छ।

निर्माण क्षेत्रमा भएको सुधार र खानी तथा उत्खनन् क्षेत्रको रोयल्टी सङ्कलनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सुधार हुने अनुमान छ। गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन् क्षेत्रको योगदान ०.४५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ०.४३ प्रतिशत रहने अनुमान छ।

आर्थिक वर्ष २०८० ८१ मा उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धि घटेकोमा त्यसपछिका आर्थिक वर्षमा कुल मूल्य अभिवृद्धि बढेको छ।

सिमेण्ट, वनस्पति घ्यू, कंक्रीट, फलामे रड, खोटो, सूर्तीजन्य पदार्थ, वायरिङ्ग तार, जुट, वियर लगायतका वस्तुको उत्पादनमा भएको वृद्धि, भट्मासको कच्चा तेल, फलामे रडको कच्चा पदार्थ, कोईला लगायत कच्चा पदार्थको आयातमा भएको वृद्धि र उत्पादित वस्तुको मागमा भएको वृद्धिका कारण उद्योग क्षेत्रको वृद्धिमा सुधार भई २.८३ प्रतिशत पुग्ने अनुमान छ। गत आर्थिक वर्ष यस्तो वृद्धिदर २.२७ प्रतिशत रहेको थियो।

पछिल्लो दशक उत्पादनमूलक उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर औसत ४.०३ प्रतिशत रहेको छ। औद्योगिक कच्चा पदार्थको आयात र आन्तरिक उत्पादनमा समेत भएको वृद्धिले उत्पादनमूलक उद्योग क्षेत्रको योगदान केही बढ्ने अनुमान छ।

गत आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान ५.६६ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ५.७२ प्रतिशत पुग्ने अनुमान छ।

सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धिमा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको योगदान सबैभन्दा बढी रहेको छ। वस्तु आयात र कृषि लगायत व्यापारजन्य वस्तुको आन्तरिक उत्पादनमा भएको वृद्धिका कारण थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको वृद्धिदर ४.५१ प्रतिशत पुग्ने अनुमान छ । गत आर्थिक वर्ष यस्तो वृद्धिदर ३.८८ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८१ ८२ मा कुल गार्हस्थ्य उत्पादनमा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको योगदान १३.७६ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष १४.०९ प्रतिशत रहने अनुमान छ।

पछिल्लो दशक यस क्षेत्रको औसत वृद्धिदर ४.२७ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा औसत योगदान १४.८५ प्रतिशत रहेको छ।

कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान घट्दै गएको छ भने सेवा क्षेत्रको योगदान बढ्दै गएको छ।

गत आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीयक र सेवा क्षेत्रको योगदान क्रमशः २४.९६ प्रतिशत, १३.२५ प्रतिशत र ६१.८० प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष यस्तो योगदान क्रमशः २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहने अनुमान छ।

पछिल्लो दशक कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र, द्वितीयक क्षेत्र र सेवा क्षेत्रको योगदान वार्षिक औसत क्रमशः २५.५२ प्रतिशत, १३.६० प्रतिशत र ६०.८८ प्रतिशत रहेको छ।