एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आइएसओ ९००१ र १४००१ को मान्यता


काठमाडौँ । एनसेलले प्रतिष्ठित आइएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको छ ।

आइएसओ ९००१ गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम)को विश्वव्यापी मानक हो ।

यसले ग्राहकका आवश्यकता तथा नियामक निकायहरूका प्रावधानहरू पूरा गर्न व्यावसायिक प्रतिष्ठानहरूले आवश्यक प्रक्रियाहरू अपनाउने गरेको सुनिश्चित गर्दछ ।

त्यसैगरी, आइएसओ १४००१ ले वातावरणीय व्यवस्थापन प्रणाली (एन्भाइरमेन्टल म्यानेजमेन्ट सिस्टम)को मापदण्ड निर्धारण गर्दछ, जसले सङ्घ संस्था तथा व्यवसायहरूलाई उनीहरूको वातावरण प्रतिको जिम्मेवारी, फोहर मैला व्यवस्थापन र विद्यमान कानुन तथा नियमहरू प्रभावकारी रूपमा पालना गर्न मार्गदर्शन गर्दछ ।

“आईएसओ २७००१ः२०२२ (आइएसएमएस) र आईएसओ २७७०१ः२०१९ (पीआईएमएस) डाटा सुरक्षा तथा गोपनीयताका मान्यताहरू प्राप्त गरेपछि अब आइएसओ ९००१ र आईएसओ १४००१ को मान्यता पाउनु हामीले प्रदान गर्ने सेवाको गुणस्तर प्रति हाम्रो प्रतिबद्धताको प्रमाण हो,” एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने ।

“बिजनेस टु कन्ज्युमर (बी टु सी), बिजनेस टु बिजनेस (बी टु बी) वा बिजनेस टु गभरमेन्ट (बी टु जी) जुनसुकै सेवा भए पनि यी मान्यताहरूले हाम्रो व्यवसाय विश्वव्यापी रूपमा मान्य मापदण्डअनुसार बलियो रूपमा सञ्चालित छ भन्ने कुरा गरेको छ ।”
एनसेलले पुस २०८१ मा आईएसओ २७००१ः२०२२ (आइएसएमएस) र आइएसओ २७७०१ः२०१९ (पिआइएमएस)को मान्यता प्राप्त गरेको थियो ।

उक्त प्रमाणीकरण यो वर्ष पनि नवीकरण गरिएको छ । यस्तो प्रमाणीकरण प्राप्त गर्ने एनसेल नेपालको पहिलो दूरसञ्चार सेवा प्रदायक हो ।

यी दुई प्रमाणीकरणहरुले नेपालको द्रुत गतिमा विकास भइरहेको डिजिटल परिदृश्यमा कम्पनीको उत्कृष्ट सञ्चालन र दिगोपनप्रति एनसेलले ध्यान केन्द्रित गरेको पुष्टि भएको कम्पनीले जनाएको छ ।