इबोला संक्रमण नियन्त्रणका लागि युगाण्डाद्वारा कंगोसँगको सीमा बन्द


युगाण्डा सरकारले छिमेकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) मा फैलिएको इबोला भाइरसको संक्रमण आफ्नो देशमा भित्रिन नदिन कंगोसँग जोडिएको सीमा नाका तत्कालका लागि बन्द गर्ने घोषणा गरेको छ ।

युगाण्डाको स्वास्थ्य मन्त्रालयका स्थायी सचिव डायना एटवाइनले बुधबार यस निर्णयबारे जानकारी दिँदै पूर्वी कंगोमा इबोलाको प्रकोप बढ्दै गएकाले उच्च शतर्कता अपनाउन सीमा बन्द गरिएको बताएका हुन् ।

सरकारको यस कदमसँगै अब आधिकारिक र अत्यावश्यक जनशक्तिलाई मात्र सीमा पार गर्ने अनुमति दिइनेछ । स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार युगान्डामा हालसम्म इबोलाको नयाँ संक्रमित फेला परेका छैनन्, तर अधिकारीहरूले उच्च सतर्कता कायम राखेका छन् ।

नयाँ नियमअनुसार कंगोबाट हवाई वा स्थल मार्ग हुँदै युगान्डा प्रवेश गर्ने सबै यात्रुहरूले अनिवार्य रूपमा २१ दिनको ‘सेल्फ–आइसोलेसन’ मा बस्नुपर्ने व्यवस्था गरिएको छ ।

संक्रमणको जोखिम न्युनिकरणका लागि मन्त्रालयले सीमा नाका र विमानस्थलहरूमा ‘लोकेटर फोन’ प्रणालीसहितको सुदृढ निगरानी संयन्त्र स्थापना गरेको छ। यस प्रणालीमार्फत प्रत्येक यात्रुको विस्तृत विवरण र उनीहरू पुग्ने गन्तव्यको तथ्याङ्क सङ्कलन गरिने सचिव एटवाइनले जानकारी दिए । 

यसैबिच, सरकारले राजधानी कम्पाला, वाकिसो र सीमावर्ती जिल्लाहरूमा समुदायस्तरमा जनचेतना र सार्वजनिक सहभागिताका कार्यक्रमहरूलाई तिब्रता दिएको छ । कंगोसँग जोडिएका खुला सीमा नाकाहरूका कारण आवतजावत सहज हुने र यसले संक्रमणको जोखिम बढाउन सक्ने भन्दै स्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । 

अधिकारीहरूले सामाजिक सञ्जालमार्फत पनि इबोलाका लक्षण र रोकथामका उपायबारे सर्वसाधारणलाई शिक्षित गराइरहेका छन् । स्वास्थ्य मन्त्रालयले नागरिकहरूलाई शान्त रहन, सतर्कता अपनाउन र इबोलाको जस्तो लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जानकारी गराउन अपिल गरेको छ ।