नेपाल आयल निगमलाई पाक्षिक ६२ करोड ८६ लाख रुपैयाँ घाटा


काठमाडौँ । नेपाल आयल निगमले पाक्षिक ६२ करोड ८६ लाख रुपैयाँ घाटा रहेको जनाएको छ ।

पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य हाल कायम रहेको दरमै यथावत राख्ने निर्णय गर्दै पाक्षिक घाटाबारे जानकारी गराएको हो ।

हाल काठमाडौंमा पेट्रोल प्रतिलिटर रु २१७, डिजेल/मट्टितेल प्रतिलिटर रु २२५ तथा १४.२ केजी एलपी ग्यासको मूल्य रु २,१६० कायम रहेको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार आगामी दिनमा मूल्य समायोजनबारे आवश्यक निर्णय गरिने जनाएको छ । निगमका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ।

भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गर्न कठिन भए पनि उपभोक्तामाथि थप भार नपार्ने उद्देश्यले हालको मूल्य कायम राखिएको निगमले जनाएको छ ।