उद्योग वाणिज्य महासङ्घ भित्रका यी हुन् शक्तिशाली विषयगत समिति र फोरम,कसले पाउलान् नेतृत्व ?


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घबाट मूल नेतृत्व छनौटको काम सकिएको छ ।

यद्यपी महासङ्भित्रका शक्तिशाली विषयगत समिति र फोरमको नेतृत्व कसले गर्ने भन्ने विषय आन्तरिक चासोको विषय छ ।

केही समयभित्रै समिति र फोरम गठन गर्ने तयारी छ । वरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले समिति गठनबारे अध्यक्ष अञ्जन श्रेष्ठले आन्तरिक तयारी गरिरहेको जानकारी दिए । उनले भने,“हामी छलफलमा छौँ र अध्यक्ष ज्यूले पनि आन्तरिक तयारी गरिरहनुभएको छ । एकदुइहप्तामै टुङ्गिन्छ होला ।”

विगतमा विषयगत परिषद्, कमिटी र फोरमलाई सक्रिय नबनाउँदा महासङ्घको कार्यसम्पादनमै प्रभाव परेको गुनासो यसपटकको चुनावमा सुनिएको थियो ।

अध्यक्ष अञ्जन श्रेष्ठले विज्ञता, क्षमतालाई आधार मानेर परिषद् कमिटी र फोरमको नेतृत्व दिने यसअघि नै प्रतिबद्धता जनाइसकेका छन् ।

महासङ्भित्र ४ ओटा परिषद्, बढीमा २५ ओटा विषयगत समिति र ४ ओटा फोरम (अघिल्लो कार्यकालकाअनुसार) छन् । महासङ्घको बोर्ड बैठकले थप विशेष समिति वा कार्यदलहरू पनि गठन गर्न सक्ने वैधानिक व्यवस्था छ ।

परिषद पदाधिकारी तहबाटै नेतृत्व गर्ने प्रचलन छ । रोजगारदाता परिषद् एसोसिएट उपाध्यक्षले, वस्तुगत परिषद् महासङ्घको निर्वाचनबाट चुनिएका वस्तुगत तर्फका उपाध्यक्षले गर्दछन् । उद्योग वाणिज्य परिषद्को नेतृत्व जिल्लानगरतर्फका उपाध्यक्षले गर्नेगर्छन् ।

महिला उद्यमी परिषद्को नेतृत्व महिला उपाध्यक्षले नेतृत्व गर्ने वैधानिक व्यवस्था छ । परिषद्को नेतृत्व उपाध्यक्षहरूले स्वत : गर्ने भएकाले समिति र फोरमको नेतृत्वमा केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको ध्यान छ ।

महासङ्घको नयाँ कार्यसमिति निर्वाचित भएपछि महासङ्घका अध्यक्षले कार्यसमितिको सल्लाह र सहमतिमा विभिन्न समितिको सभापति मनोनयन गर्ने प्रचलन छ । अध्यक्षले आफूअनुकुल निर्णय पनि गर्न सक्छन् ।

अध्यक्ष अञ्जन श्रेष्ठले समिति र फोरममा आफ्नो प्रतिबद्धताअनुसार दक्षता, विज्ञता, अनुभव र व्यावसायिक क्षेत्रको मूल्याङ्कन गरेर नेतृत्व दिनु्पर्ने छ ।

कुनकुन हुन शक्तिशाली समिति ?

महासङ्घभित्र सबैभन्दा शक्तिशाली समिति राजस्व समिति मानिन्छ । कर नीतिले व्यवसायिक क्षेत्रमा स्वाभाविक हिसाबले सबै क्षेत्रमा प्रभाव पार्छ ।

महासङ्घको केन्द्रीय नेतृत्व सक्रिय नभएको अवस्थामा पनि अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभागजस्ता सरकारी निकायसँग सिधा छलफल र वार्ता गर्न सक्छ । बजेट अघि उद्योग वाणिज्य महासङ्घले सधै सरकारलाई राजस्वसम्बन्धी सुझाव दिन्छ ।

अघिल्लो कार्यकालमा अध्यक्ष चन्द्रप्रसाद ढकाललाई अम्बिकाप्रसाद पौडेललाई राजस्व समितिको सभापतिको जिम्मा दिएको थिए । पौडेल यसपटक केन्द्रीय कार्यकारिणी समिति निर्वाचित भएका छन् । कोषाध्यक्षको उम्मेदवार भए पनि पराजित भए ।

बैंक, वित्त तथा बीमा समिति अर्को शक्तिशाली समिति हो । यसले महासङ्भित्र यसको भूमिका भनेको बैंक तथा वित्तीय क्षेत्रसँग आइपर्ने प्राविधिक र व्यहारिक समस्या सुल्झाउने लगायतको छ ।

राष्ट्र बैंकले हरेक वर्ष ल्याउने मौर्दिक नीतिमा महासङ्घले दिने सुझाव र मागका लागि तयारी गर्ने, अर्थ मन्त्रालय, राष्ट्र बैंक, वित्तीय संस्था वा बीमा क्षेत्रमा आएको कुनै नयाँ नियम निर्देशिकाले पार्ने प्रभाव अध्ययन गर्ने र संसोधनका लागि दबाब दिने भूमिका निर्वाह गर्दछ ।

देशका ठुला कर्पोरेट हाउसको समेत चासो यसमा हुन्छ । खासगरी साना मझौला तथा लुघ उद्यमको मुद्दा यसमा बढी पर्ने भए पनि ठुला कर्पोरेट हाउसको चासो सधै यो समितिमा हुन्छ ।

उद्योग समिति पनि लगानी प्रवर्धनका हिसाबले यो समिति महासङ्घको ‘मुटु’ मानिन्छ ।

यो समितिले औद्योगिक वातावरण र नीति निर्माणमा दबाब दिने, बहस तथा छलफल गर्ने, उद्योगीहरूको लगानी सुरक्षाका लागि लबिङ गर्ने, उद्योग स्थापना गर्दा भोग्नुपर्ने प्रशासनिक झन्झट, जग्गा प्राप्ति, बिजुली आपूर्ति र वातावरणीय प्रभाव मूल्याङ्कनका समस्याहरूमा समिति सिधै जोड्रिन्छ ।

बाणिज्य र ऊर्जा समिति तथा निर्यात प्रवर्धन समिति पनि शक्तिशाली समिति हुन् । पर्यटन तथा हावाई समिति,सूचना तथा सञ्चार प्रविधि समिति पनि शक्तिशाली समिति मानिन्छन् । महासङ्घले २५ ओटासम्म विषयगत समिति बनाउन सक्छ ।

फोरम भित्र पुँजीबजार फोरम र लगानी तथा अन्तराष्ट्रिय सम्बन्ध फोरम प्रभावशाली मानिन्छन् ।

अध्यक्षले आफू निकटकालाई यी दुइओटा फोरमको नेतृत्व गर्ने अवसर दिन खोज्दछन् । फोरम भने तलमाथि गर्न सकिने छ । महासङ्घले वरिष्ठ उपाध्यक्ष र कोषध्यक्ष चयन गर्न बाकी छ ।

कृषि उद्यम केन्द्र महासङ्घभित्र अर्को ‘शक्ति केन्द्र’ हो ।

नेपालको कृषि व्यवसायलाई प्रवर्धन गर्ने, कृषिको व्यवसायीकरण गर्ने र उच्च मूल्यका उत्पादनहरूको बिक्री वृद्धि तथा बजार विस्तारका लागि काम गर्ने भएकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायसँग पनि सम्बन्ध रहने हुनाले कृषि क्षेत्रबाट आएकाहरूको यसमा विशेष चासो रहने गर्दछ ।

उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले आउँदो हप्ताभित्र समितिको नेतृत्वबारे निर्णय हुन सक्ने बताए । उनले भने,“ अर्को हप्तासम्म केही निर्णय हुन्छ ।”