काठमाडौं । पूर्वअर्थमन्त्री डा। युवराज खतिवडाले सरकारले ल्याएको बजेट उपभोगमुखी भएकाले यसले अपेक्षित रूपमा रोजगारी सिर्जना गर्न नसक्ने बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षका लागि सरकारले निर्धारण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कम्तीमा २२ देखि २४ प्रतिशतसम्म आयात वृद्धि हुनुपर्ने बताए। त्यसले मात्र अर्थतन्त्रमा देखिएको तरलताको केही सन्तुलन कायम गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
खतिवडाले वित्तीय क्षेत्रमा बढ्दो तरलताको प्रमुख कारण रेमिट्यान्सबाट आएको विदेशी मुद्रा रहेको उल्लेख गर्दै बैंकहरूले डलर राष्ट्र बैंकलाई बुझाएर त्यसबापत नेपाली मुद्रा जम्मा गरेकाले तरलता बढेको बताए।
उनले सरकारले दीर्घकालसम्म करका दर परिवर्तन नगर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसअनुसार नीति नदेखिएको टिप्पणी गरे। उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्य भए कर्पोरेट करको दर घटाउनुपर्नेमा सरकारले त्यसतर्फ ध्यान नदिएको उनको आरोप थियो।
“यदि वास्तवमै उद्यमशीलतालाई प्रोत्साहन गर्ने हो भने २५ र २० प्रतिशत रहेको कर्पोरेट करको दरलाई क्रमशः २० र १५ प्रतिशतमा झार्नुपर्थ्यो,” उनले भने, “तर उत्पादनमुखी कर सुधारभन्दा उपभोगसँग सम्बन्धित कर समायोजनमा बढी जोड दिइएको छ।”
खतिवडाले व्यक्तिगत आयकरको माथिल्लो सीमा ३९ प्रतिशतबाट २९ प्रतिशतमा झारिएको विषयले पनि उपभोगमा आधारित आर्थिक वृद्धिलाई नै प्रोत्साहन गरेको बताए। उनका अनुसार आर्थिक रूपान्तरणका लागि उपभोगमुखी होइन, उत्पादनमुखी नीति आवश्यक छ।
पूर्वअर्थमन्त्री खतिवडाले रोजगारी सिर्जना गर्ने लक्ष्य हासिल गर्न उत्पादनमूलक उद्योग, विशेषगरी साना, मझौला तथा घरेलु उद्योगको स्थापना र विस्तारमा प्राथमिकता दिनुपर्ने बताए।
उनले बजेटमा साना तथा मझौला उद्यम ९एसएमई० क्षेत्रका लागि पर्याप्त ध्यान नदिइएको उल्लेख गर्दै पुँजी परिचालन, प्रविधि हस्तान्तरण, उद्यमशीलता विकास तथा बजार संरक्षणका विषयमा ठोस योजना अभाव रहेको बताए।
“उपभोग–आधारित अर्थतन्त्रले रोजगारी सिर्जना गर्दैन,” उनले भने, “यदि रोजगारी–केन्द्रित आर्थिक रूपान्तरण गर्ने हो भने उत्पादनमूलक उद्योगहरूको विस्तारमा विशेष जोड दिनुपर्छ।”
साना, मझौला तथा घरेलु उद्योगको विस्तारबिना कृषिबाट औद्योगिक क्षेत्रमा आर्थिक रूपान्तरण सम्भव नहुने जिकिर गर्दै खतिवडाले व्यवसायीहरूको आत्मविश्वास बढाउन र लगानीमैत्री वातावरण निर्माण गर्न कर प्रणालीमा रणनीतिक सुधार आवश्यक रहेको बताए।
खतिवडाका अनुसार निजी क्षेत्रलाई उत्पादन र लगानीतर्फ आकर्षित गर्न स्थिर, पूर्वानुमानयोग्य र प्रोत्साहनमुखी कर नीति आवश्यक छ। त्यसो हुन सकेमात्र अर्थतन्त्रलाई उपभोगमुखी संरचनाबाट उत्पादनमुखी संरचनातर्फ रूपान्तरण गर्न सकिने उनले बताए।



प्रतिक्रिया दिनुहोस्