काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा प्राधिकरणलाई समेत गुमराहमा पार्ने गरेर स्पष्टिकरण पठाएको छ ।
सञ्चालक समितिको वैधानिकता र निर्णयबारे प्राधिकरणले मागेको स्पष्टिकरणमा बीमा ऐनलाई ‘बाइपास’ गरेर कम्पनी ऐनको विषय उल्लेख गरेर नेपाल लाइफले केहीदिन अघि स्पष्टिकरण पठाएको छ ।
नेपाल लाइफको स्पष्टिकरणमा प्राधिकरणलाई छल्न खोजिएको र बीमा ऐनलाई नजर अन्दाज गर्न खोजिएको भन्दै थप स्पष्टिकरण माग्ने तयारी भएको छ ।
के भएको थियो ?
नेपाल लाइफ इन्स्योरेन्सको २०८२ पुस १९ गते वीरगञ्जमा भएको २६ औँ साधारण सभाबाट संस्थापकहरूको तर्फबाट गोविन्दलाल संघई,ग्लोबल ट्रेडिङ् कन्सर्न प्रा.लि.का प्रतिनिधि कमलेश अग्रवाल र विवेक अग्रवाल सर्वसम्मतिमा सञ्चालक चयन भए । लगत्तै गोविन्दलाल संघइलाई अध्यक्षमा चयन गरिएको थियो ।
दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका गोविन्दलाललाई बीमा प्राधिकरणले पद तथा गोपनीयताको सपथ गराएन ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका गोविन्दलालको प्रहरी रिपोर्ट क्लियरेन्स नभएपछि प्राधिकरणले पद तथा गोपनीयताको सपथ गराउन अस्वीकार गरेको थियो ।
गोविन्दलालमा कैफियत देखिएर अध्यक्षको सपथ ग्रहण गर्न नपाएपछि नेपाल लाइफ इन्स्योरेन्सले झण्डै एक महिनापछि २०८२ माघ २१ गते मात्रै दुई सञ्चालकले सपथ ग्रहण गरेर पद बहाली गरेको पत्र सम्बन्धित निकायमा पत्राचार गरेको देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज लगायत सम्बन्धित निकायलाई पठाइएको पत्रमा ‘सञ्चालकज्यूहरू श्री कमलेशकुमार अग्रवाल र श्री विवेक अग्रवालले मिति २०८२/१०/२१ गते बसेको सञ्चालक समितिको ४०८ औँ बैठकमा बीमा ऐन–२०७९ बमोजिम सपथ ग्रहण गरी पद बहाली गर्नुभएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौँ’ भन्ने उल्लेख छ ।
वैधानिकताको प्रश्न, स्पष्टिकरणमा छल
२६ औँ साधारण सभापछि नेपाल लाइफ इन्स्योरेन्समा अध्यक्ष नै नियुक्त भएको छैन । बीमा ऐन अनुसार बिमा कम्पनीका अध्यक्षले प्राधिकरणका अध्यक्ष समक्ष र सदस्यले बिमा कम्पनी अध्यक्ष समक्ष सपथ लिनुपर्ने स्पष्ट व्यवस्था छ ।
यो बिचमा नेपाल लाइफका कुनै अध्यक्षले प्राधिकरणका अध्यक्ष समक्ष सपथ ग्रहण गरेको देखिदैन । सञ्चालक सदस्यहरूको सपथग्रहण भने बीमा ऐनअनुसार गरेको भनेर सम्बन्धित निकायमा पत्राचार गरिएको छ । अहिले कम्पनीले भने स्पष्टिकरणमा विषय तोडमोड गरेर ‘कम्पनी ऐनअनुसार जेष्ठ सदस्य’लाई बैठकको अध्यक्षता गराएको भनेको छ ।
यो जवाफले प्राधिकरणका अधिकारीहरू आश्चर्यमा परेका छन् ।
यस विषयमा प्रष्टरूपमा बीमा ऐन आर्कषित हुँदा हुँदै नेपाल लाइफले छल्न खोजको प्राधिकरणका अधिकारीहरूको भनाई छ ।
स्रोतले भन्यो,“यो सिधै बीमा ऐनको विषय हो,त्यसैले यहाँ बीमा ऐन अर्कषित हुन्छ । सपथ ग्रहण र पदबहाली पत्रमा बीमा ऐन उल्लेख हुने अहिले स्पष्टिकरणमा कम्पनी ऐन उल्लेख गर्नु भनेको नमिलेको विषय हो । ”
मनलाग्दो राजीनामा स्वीकृति
गोविन्दलाल संघई दोस्रो कार्यकालका लागि अध्यक्ष बन्न खोजेका थिए । अध्यक्ष चयन नभएपछि उनको अध्यक्ष मात्रै होइन कि सञ्चालक समिति सदस्यको बैधानिक हैसियत थिएन ।
यद्यपि २०८२ फागुन २४ गते उनले सञ्चालक समिति पदबाट राजीनामा दिएकाले स्वीकृत गरिएको भनियो । बीमा कम्पनीको सञ्चालकमा नियुक्त भइसके पनि सपथ ग्रहण नगरेको व्यक्ति पद बहाल गरेको मानिँदैन ।
यस्तो अवस्थामा गोविन्दलालको राजीनामा कानुनी रूपमा स्वीकृत गर्नुपर्ने बाध्यता हुँदैन । अवैधानिक गोविन्दलालको राजीनामा स्वीकृत गर्नुको कुनै अर्थ नभएको जानकारहरू बताउछन् ।
अल्पमतको निर्णय !
विरगञ्जको साधारण सभापछि नेपाल लाइफ इन्स्योरेन्समा वाहलवाला तीनजना मात्रै सञ्चालक देखिन्छन् । पब्लिकका तर्फबाट बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने, शर्मिला श्रेष्ठ महर्जन मात्रै साधारण सभापछि सञ्चालक छन् ।
अहिले पनि अध्यक्षसहित ६ जना सञ्चालक रहेको कम्पनीको वेवसाइटमा देखिन्छ ।
यो हेर्दा पुरुषोत्तमलाल संघईलाई सञ्चालक नियुक्ति गर्दा सञ्चालक बोर्डको बहुमत थिएन ।
कमलेश अग्रवालल विवेक अग्रवालको सपथ ग्रहणको वैधानिकताबारे प्रश्न उठिरहेकाले कानुनअनुसार पुरुषोत्तमलाललाई सञ्चालकमा नियुक्त गर्दा र अध्यक्षमा नियुक्त गर्दा कोरम पुगेको देखिदैन । यसले वर्तमान अध्यक्ष अवैध देखिन्छन् भने दुइजना सञ्चालक समेत अवैधानिक देखिन्छन् ।
बीमा प्राधिकरणको अलमल
नेपालको सबैभन्दा ठुलो इन्स्योरेन्स कम्पनीमा झण्डै ५ महिनादेखि सञ्चालक समितिका अध्यक्ष र दुइ सञ्चालकबारे प्रश्न उठिरहेको छ । प्राधिकरणले यसबिचमा स्पष्टिकरण त सोधेको छ तर कारबाही प्रक्रियालाई तीव्रता दिन सकेको छैन ।
यस विषयमा प्राधिकरणभित्रैका कतिपय अधिकारी असन्तुष्ट छन् । स्रोतले भन्यो,“ यो सामान्य विषय होइन । तत्काल टुङ्ग्याउनुपर्छ । यो एउटा सुशासनसँग जोडिएको विषयमात्रै होइन प्राधिकरणको निर्णय क्षमतासँग समेत जोडिएको विषय हो ।”
कम्पनी ऐन र बीमा ऐन भनेर व्याख्या गर्ने र यस्तो गम्भीर विषयमा उनमुक्ति दिन सक्ने आशङ्कासमेत प्राधिकरणभित्रै छ ।



प्रतिक्रिया दिनुहोस्