अमेरिकी–इरानी संकटले ऊर्जा सुरक्षामा चुनौती थपिएको राष्ट्रपति एर्दोआनको चेतावनी


टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोआनले इरान र अमेरिकाबिच जारी तनावले विश्वव्यापी रूपमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन् ।

ऊर्जा आपूर्ति सुनिश्चित गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्दै उहाँले हालको संकटले विश्व अर्थतन्त्रलाई प्रभावित तुल्याएको उल्लेख गरे । ऊर्जा आपूर्ति सुरक्षालाई राष्ट्रिय सुरक्षाको आधारभूत पक्षका रूपमा व्याख्या गर्दै उनले हर्मुज जलसन्धिको अवरोधले यसको महत्त्व अझ प्रस्ट पारेको बताए ।

एर्दोआनकाअनुसार ऊर्जा सुरक्षा सुनिश्चित गर्नु विकासको विषय मात्र नभई यो राष्ट्रिय सार्वभौमिकता र सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो । तथ्याङ्क प्रश्तुत गर्दै राष्ट्रपति एर्दोआनले विगत २० वर्षमा टर्किएको ऊर्जा माग दोब्बर भएको जानकारी दिए । 

टर्किएले हाल स्वदेशी ऊर्जा उत्पादनलाई तिब्रता दिनुका साथै ऊर्जा मिश्रणमा नवीकरणीय ऊर्जा, स्वदेशी खनिज इन्धन र आणविक ऊर्जा जस्ता वैकल्पिक स्रोतहरूको हिस्सा बढाउने रणनीति अवलम्बन गरिरहेको छ । 

यसैबिच, विश्लेषकहरूले अमेरिका र इरानबीचको बढ्दो तनावले टर्किएको ऊर्जा आयात लागत अझ बढ्न सक्ने बताएका छन् । यसले देशको मुद्रास्फीति बढाउनुका साथै आगामी महिनाहरूमा चालु खाता घाटालाई समेत फराकिलो बनाउन सक्ने प्रति उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।