प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादसम्बन्धी अभिव्यक्तिमा माफी माग्नुपर्छ : सांसद निश्कल राई


काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र साहले सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याउनुको सट्टा नेपालले भारतको भूमि अतिक्रमण गरेको प्रमाणित गर्न खोजेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद राईले नेपाल विश्व समुदायको नजरमा सीमा अतिक्रमणकारी राष्ट्र नभएको र बन्न नसक्ने बताएका हुन्। उनले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको अन्तर्राष्ट्रिय छविमाथि नै प्रश्न उठाउने प्रयास भएको टिप्पणी गरे।

राईले नेपालले भारतको कुनै पनि भूमि अतिक्रमण नगरेको जिकिर गर्दै प्रधानमन्त्रीका समर्थकहरूले समेत सामाजिक सञ्जालमार्फत आधारहीन सामग्री सिर्जना गरेर नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्न खोजेको आरोप लगाए।

उनले भने, “नेपालले छिमेकी देश भारतको कुनै पनि सीमा वा जमिन मिचेको छैन। नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश होइन र बन्न सक्दैन। तर सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालले समेत भारतको भूमि अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न खोज्नुभएको छ।”

सांसद राईले विपक्षी दलहरूले नेपाल सीमा अतिक्रमणकारी राष्ट्र नभएको तथ्य स्थापित गर्न प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भई आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरे।

उनले सभामुख डोलप्रसाद अर्याललाई प्रधानमन्त्रीलाई माफी माग्न निर्देशन (रुलिङ) गर्न आग्रह गर्दै यस विषयमा स्पष्ट निर्णय लिनुपर्ने बताए।

उनले सरकार समर्थकहरूलाई लक्षित गर्दै “यस्तो राष्ट्रघाती कदमलाई प्रमाणित गर्न किन प्रयास भइरहेको छ रु” भन्दै प्रश्नसमेत उठाए।