—मुना दाहाल—
हरेक बालबालिकाको अनुहारमा मुस्कान ल्याउने, उनीहरूको सिर्जनशीलता, आत्मविश्वास, सामाजिक सीप तथा जीवनोपयोगी क्षमता विकास गर्ने सबैभन्दा सरल, प्राकृतिक र प्रभावकारी माध्यम खेल हो। त्यसैले जुन ११ मा मनाइने अन्तर्राष्ट्रिय खेल दिवस केवल एउटा औपचारिक दिवस मात्र होइन, बालबालिकाको समग्र विकासमा खेलको महत्त्व बुझ्ने र यसका लागि सबै सरोकारवालालाई एकै ठाउँमा ल्याउने महत्त्वपूर्ण अवसर पनि हो।
आजको संसार तीव्र गतिमा परिवर्तन भइरहेको छ। प्रविधिको विकासले हाम्रो जीवनलाई सहज र सुविधाजनक बनाएको छ, तर यससँगै नयाँ चुनौतीहरू पनि थपिएका छन्। विशेषगरी बालबालिकाहरू मोबाइल, ट्याबलेट, टेलिभिजन तथा अन्य डिजिटल उपकरणसँग बढी समय बिताउन थालेका छन्। हामी प्रायः उनीहरूलाई “मोबाइल धेरै नचलाऊ” वा “बाहिर गएर खेल” भनेर सम्झाउँछौँ। तर कहिल्यै आफैँलाई प्रश्न गरेका छौँ, “के म आफ्ना बालबालिकासँग पर्याप्त समय बिताइरहेको छु?”
यदि हामीले आफ्नो बाल्यकाल सम्झियौँ भने, लुकामारी, डण्डीबियो, चुङ्गी, गट्टा, कबड्डी, रुमाल लुकाउने, डोरी तान्ने जस्ता परम्परागत खेलहरूमा रमाउँदै हुर्किएका थियौँ। ती खेलहरू मनोरञ्जनका माध्यम मात्र थिएनन्, तिनले सहकार्य, अनुशासन, नियमपालन, नेतृत्व तथा सामाजिक सम्बन्धका महत्त्वपूर्ण पाठ पनि सिकाएका थिए।
आजका बालबालिकाले पनि त्यस्तै अनुभव पाउन आवश्यक छ, किनकि खेल केवल मनोरञ्जन होइन, सिकाइको आधार हो। विभिन्न अनुसन्धानहरूले देखाएका छन् कि बालबालिकाको मस्तिष्क विकासको ठूलो हिस्सा जीवनका प्रारम्भिक वर्षमै सम्पन्न हुन्छ। यही कारण नेपाल सरकारको विद्यालय पाठ्यक्रमले पनि खेलमा आधारित सिकाइलाई विशेष महत्त्व दिएको छ।
यदि हामीले आफ्नो बाल्यकाल सम्झियौँ भने, लुकामारी, डण्डीबियो, चुङ्गी, गट्टा, कबड्डी, रुमाल लुकाउने, डोरी तान्ने जस्ता परम्परागत खेलहरूमा रमाउँदै हुर्किएका थियौँ।आजका बालबालिकाले पनि त्यस्तै अनुभव पाउन आवश्यक छ, किनकि खेल केवल मनोरञ्जन होइन, सिकाइको आधार हो।
हामीमध्ये धेरै अभिभावक दिनभर कार्यालय, व्यवसाय वा अन्य जिम्मेवारीमा व्यस्त हुन्छौँ। घर फर्किएपछि पनि मोबाइल, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यममै समय बिताउने प्रवृत्ति बढ्दो छ। यस्तो अवस्थामा बालबालिकाले हामीलाई हेरेर सिकिरहेका हुन्छन्। वास्तवमा बालबालिका हाम्रो ऐना हुन्। हामीले देखाएको व्यवहार, बानी र मूल्यहरू उनीहरूले सहज रूपमा आत्मसात् गर्छन्।
त्यसैले बालबालिकालाई डिजिटल उपकरणको अत्यधिक प्रयोगबाट टाढा राख्ने सबैभन्दा प्रभावकारी उपाय भनेको उनीहरूलाई हाम्रो समय, साथ र ध्यान दिनु हो। उनीहरूलाई महँगा खेलौनाभन्दा बढी आमाबुबासँग बिताएका खुसीका क्षणहरूको आवश्यकता हुन्छ।
बालबालिका हाम्रो समयको प्रतीक्षामा हुन्छन्। त्यसैले प्रत्येक अभिभावकले दिनको कम्तीमा ३० मिनेट वा हप्ताको निश्चित समय बालबालिकासँग खेल्न छुट्याउनु आवश्यक छ। परिवारका सदस्यहरू बसेर कुन दिन, कति बजे र कुन खेल खेल्ने भन्ने योजना बनाउन सकिन्छ। यस्तो सानो प्रयासले बालबालिकाको जीवनमा ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्छ।
परम्परागत खेल र बालबालिकाको विकास
नेपालको समृद्ध सांस्कृतिक सम्पदामा अनेकौँ परम्परागत खेलहरू छन्। झण्डीबियो, कबड्डी, चुङ्गी, गट्टा, बाघचाल, लुकामारी, रुमाल लुकाउने, डोरी तान्ने, घेरा दौड र सातढुङ्गे जस्ता खेलहरू। यी खेलहरू खेल्न महँगा सामग्री आवश्यक पर्दैन। स्थानीय स्रोत, खुला स्थान र साथीभाइ नै पर्याप्त हुन्छन्।
नेपालको समृद्ध सांस्कृतिक सम्पदामा अनेकौँ परम्परागत खेलहरू छन्। झण्डीबियो, कबड्डी, चुङ्गी, गट्टा, बाघचाल, लुकामारी, रुमाल लुकाउने, डोरी तान्ने, घेरा दौड र सातढुङ्गे जस्ता खेलहरू। यी खेलहरू खेल्न महँगा सामग्री आवश्यक पर्दैन। स्थानीय स्रोत, खुला स्थान र साथीभाइ नै पर्याप्त हुन्छन्।
यस्ता खेलहरूले बालबालिकामा सहकार्य, नेतृत्व, अनुशासन, धैर्यता, समस्या समाधान क्षमता, आत्मविश्वास र सामाजिक सम्बन्ध विकास गर्छन्। साथै, यिनले बालबालिकालाई आफ्नो संस्कृति, समुदाय र पहिचानसँग जोड्ने महत्त्वपूर्ण भूमिका पनि खेल्छन्।
खेल केवल शारीरिक गतिविधि मात्र होइन, यो बालबालिकाको भाषा हो। खेलमार्फत उनीहरूले संसार बुझ्न, आफ्ना भावना व्यक्त गर्न, हार–जित स्वीकार गर्न तथा जीवनका महत्त्वपूर्ण मूल्य—मित्रता, सहानुभूति, सम्मान र जिम्मेवारी—अभ्यास गर्न सिक्छन्। खेलले स्वस्थ शरीर मात्र होइन, स्वस्थ मनको पनि निर्माण गर्छ।
यस अभियानमा विद्यालयहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। विद्यालय केवल पढाइ हुने स्थान होइन, बालबालिकाको व्यक्तित्व निर्माण गर्ने केन्द्र हो। शिक्षकहरू ज्ञान दिने मात्र होइनन्, सिकाइका मार्गदर्शक पनि हुन्। त्यसैले खेललाई सिकाइ प्रक्रियाको अभिन्न अङ्गका रूपमा स्थापित गर्न आवश्यक छ। विद्यालयहरूले खेलमैत्री वातावरण, खुला सिकाइ तथा स्थानीय स्रोतसाधनमा आधारित गतिविधिलाई प्राथमिकता दिनुपर्छ।
यसैगरी अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार, समुदाय तथा अन्य सरोकारवालाहरूको साझा जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण छ। बालबालिकाको समग्र विकास कुनै एक पक्षको प्रयासबाट मात्र सम्भव हुँदैन। जब घर, विद्यालय र समुदायबीच बलियो सहकार्य हुन्छ, तब बालबालिकाले सुरक्षित, सहयोगी र प्रेरणादायी वातावरण प्राप्त गर्छन्।
हामी सबैको लक्ष्य एउटै हो—असल, जिम्मेवार, सिर्जनशील, आत्मविश्वासी तथा मानवीय मूल्यले सम्पन्न नागरिक निर्माण गर्ने। जब सबै सरोकारवाला एउटै उद्देश्यका साथ अघि बढ्छन्, तब सुन्दर परिवार, सक्षम समुदाय र समृद्ध राष्ट्र निर्माण सम्भव हुन्छ।
हामी सबैको लक्ष्य एउटै हो—असल, जिम्मेवार, सिर्जनशील, आत्मविश्वासी तथा मानवीय मूल्यले सम्पन्न नागरिक निर्माण गर्ने। जब सबै सरोकारवाला एउटै उद्देश्यका साथ अघि बढ्छन्, तब सुन्दर परिवार, सक्षम समुदाय र समृद्ध राष्ट्र निर्माण सम्भव हुन्छ।
अन्तर्राष्ट्रिय खेल दिवसको सन्देश र विद्यालय खेलकुदको भूमिका
त्यसैले अन्तर्राष्ट्रिय खेल दिवसको अवसरमा हामी सबैलाई एकजुट हुन आग्रह गर्दछु। बालबालिकाको भविष्यप्रति जिम्मेवार बनौँ। उनीहरूलाई समय दिऔँ, उनीहरूसँग खेलौँ, उनीहरूलाई सुनौँ र बुझ्ने प्रयास गरौँ। विद्यालय र परिवारबीचको सहकार्यलाई अझ बलियो बनाऔँ। हाम्रो परम्परागत खेल संस्कृतिलाई पुनर्जीवित गरौँ र खेललाई बालबालिकाको अधिकार तथा समग्र विकासको आधारका रूपमा स्वीकार गरौँ।
अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) विद्यालयस्तरीय खेलकुदको विश्वव्यापी शासकीय संस्था हो। सन् १९७२ मा स्थापना भएको आईएसएफले विद्यालय उमेरका विद्यार्थीहरूबीच खेलकुद र शिक्षाको प्रवर्द्धन गर्दै मित्रता, सम्मान, निष्पक्ष खेल (फेयर प्ले) तथा सांस्कृतिक आदानप्रदानलाई अन्तर्राष्ट्रिय खेल प्रतियोगिता र शैक्षिक कार्यक्रमहरूमार्फत प्रोत्साहन गर्दछ।
आईएसएफले अन्तर्राष्ट्रिय समझदारी र स्वस्थ जीवनशैलीको विकासमा जोड दिँदै विश्वभरका राष्ट्रिय विद्यालय खेलकुद संस्थाहरूसँग सहकार्य गर्दछ। यसले विद्यार्थी खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने, सीप विकास गर्ने तथा खेलकुदमार्फत आजीवन सम्बन्ध निर्माण गर्ने अन्तर्राष्ट्रिय अवसरहरू प्रदान गर्दछ।
अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) विद्यालयस्तरीय खेलकुदको विश्वव्यापी शासकीय संस्था हो। सन् १९७२ मा स्थापना भएको आईएसएफले विद्यालय उमेरका विद्यार्थीहरूबीच खेलकुद र शिक्षाको प्रवर्द्धन गर्दै मित्रता, सम्मान, निष्पक्ष खेल (फेयर प्ले) तथा सांस्कृतिक आदानप्रदानलाई अन्तर्राष्ट्रिय खेल प्रतियोगिता र शैक्षिक कार्यक्रमहरूमार्फत प्रोत्साहन गर्दछ।
खेलकुद शिक्षा बालबालिकाको व्यक्तित्वको समग्र विकासको महत्त्वपूर्ण आधार हो। यसले सिकाइलाई अझ प्रभावकारी, रोचक र व्यवहारिक बनाउँछ। नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) ले परम्परागत तथा आधुनिक खेलहरूलाई प्रशिक्षण, प्रतियोगिता, अनुसन्धान र शैक्षिक गतिविधिहरूसँग एकीकृत गरी खेलकुद शिक्षाको सक्रिय प्रवर्द्धन गर्दै आएको छ। यसमार्फत बालबालिकाको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण योगदान पुगिरहेको छ।
अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ, नेपाल विद्यालय खेलकुद महासंघ र सबैका लागि अन्तर्राष्ट्रिय खेलकुद संघको संयुक्त प्रयासले खेललाई केवल मनोरञ्जनको माध्यमका रूपमा नभई शिक्षा, सांस्कृतिक संरक्षण, स्वास्थ्य प्रवर्द्धन तथा सामाजिक रूपान्तरणको प्रभावकारी साधनका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।
आउनुहोस्, केही समयका लागि मोबाइल एकातिर राखौँ र बालबालिकाको संसारमा प्रवेश गरौँ। उनीहरूसँग दौडौँ, रमाऔँ, सिकौँ र सिकाऔँ। किनकि आज हामीले बालबालिकालाई दिएको समय, माया र साथ नै भोलिको सुन्दर समाज निर्माणको बलियो आधार हो।
खेलौँ, सिकौँ, जोडिऔँ र सँगै भविष्य निर्माण गरौँ।
(लेखक काठमाडौँ विश्वविद्यालय शिक्षा सङ्कायमा एमफिल अध्ययनरत शोधार्थी हुन्।)



प्रतिक्रिया दिनुहोस्