काठमाडाैँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) अध्यक्षण गणेश कार्कीले ऊर्जा क्षेत्रका लागि सरकारले घोषणा गरेका नीतिगत सुधारलाई अब प्रभावकारी कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् ।
इप्पान निर्वाचनको संघारमा आयोजित एक भेलालाई सम्बोधन गर्दै उनले आफू नेतृत्वमा रहँदा उर्जा क्षेत्रमा व्यापक बजेटमार्फत सम्बोधन गराएको भन्दै अब आउने इप्पानको नयाँ नेतृत्वले सरकारले गरेका घोषणालाई कार्यान्वयनमा लैजानका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।
उनका अनुसार पछिल्ला केही वर्षमा ऊर्जा क्षेत्रले उठाएका मुद्दा सरकार र राजनीतिक दलहरूसम्म पु¥याउन इप्पानको वर्तमान नेतृत्व सफल भएको छ । ऊर्जा क्षेत्रसँग सम्बन्धित धेरै विषय अहिले राजनीतिक दलका घोषणापत्र, सरकारको नीति तथा बजेटमा समेटिएका छन् ।
कार्कीले वर्तमान सरकारले ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै जलविद्युत् आयोजनाको लाइसेन्स अवधि ५० वर्ष पु¥याउने, ‘वान डोर पोलिसी’ लागू गर्ने तथा विद्युत् खरिद सम्झौता सम्बन्धी नीतिगत सुधारका विषय बजेटमा आएको बताए ।
उहाँकाअनुसार विगतदेखि निजी क्षेत्रले उठाउँदै आएको ‘टेक एण्ड पे’ मोडलको सट्टा ‘टेक अर पे’ आधारमा विद्युत खरिद सम्झौता गर्ने विषयमा पनि सकारात्मक पहल भएको छ । अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रको विकासका लागि सरकार, निजी क्षेत्र र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा देखिएका अवसरलाई आर्थिक समृद्धिको आधार बनाउनुपर्ने उल्लेख गरे ।
उनले वर्तमान नेतृत्व टोलीप्रति विश्वास व्यक्त गर्दै ऊर्जा क्षेत्रका एजेण्डालाई प्रभावकारी रूपमा अघि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्