काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुल्यो, छानबिन गर्न समिति गठन


काठमाडौँ । काभ्रेमा हिजो यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका सबैको सनाखत भएको छ ।

दिउँसो बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका–२ मा बुच्चाकोट दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो ।

मृतक सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विष्टले जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुनेमा रोशी गाउँपालिका–७ की ३४ वर्षीया फूलमाया तामाङ, रोशीकै वडा–६ को ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, ८ नम्बर वडाको ६० वर्षीया प्यारीमाया तामाङ छन् ।

यस्तै दैलेख घर भएका ३० वर्षीय बमबहादुर भण्डारी, काभ्रेकै रोशी गाउँपालिका–६ का ४५ वर्षीय मेघ बहादुर तामाङ, रोशी–का ५५ वर्षीय राजु तामाङ, वडा ७ का ६० वर्षीया माया तामाङ र सिन्धुलीको घ्याङलेक गाउँपालिका–४ की २२ वर्षीया सुमि तामाङ रहेको डिएसपी विष्टले जानकारी दिए । घाइते भएको १६ जनाको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

यसैबिच दुर्घटनबारे छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ ।