६ दिने कृषि मेशिनरी मर्मत सम्भार तालिम सम्पन्न


काठमाडौँ । कृषि मेशिनरी मर्मत तथा सम्भार सम्बन्धी ६ दिने तालिम सम्पन्न भएको छ । बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि तालिम केन्द्र, भण्डारा, चितवनको आयोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघको प्राविधिक सहयोगमा ६ दिने तालिम पुष्प विकास केन्द्र, गोदावरीमा सम्पन्न भएको हो ।

२०८३ जेठ २६ गते देखि ३१ गते सम्म सञ्चालन भएको उक्त तालिममा बागमती प्रदेशका ११ जिल्लाका २२ जना कृषक सहभागी थिए । जसमा २१ जना पुरुष र १ महिलाको सहभागीता रहेको थियो ।

प्रशिक्षार्थीहरुलाई तालिम परिसरमा नै आवासीय सुविधा थियो । मुख्यतः मिनी टिलर र पावर टिलर मर्मत संभारमा आधारित उक्त तालिममा सैद्धान्तिक र प्रयोगात्मक दुवै कक्षाहरुको माध्यमबाट प्रशिक्षण गरिएको थियो ।

नेपाल कृषि इन्जिनियरिङ्ग अनुसन्धान केन्द्र र नेपाल कृषि मेशिनरी व्यवसायी संघका इन्जिनियर र दक्ष प्राविधिकहरुको प्रशिक्षण र मार्गनिर्देशनमा तालिमसम्पन्न भएको छ ।

कृषि मेशिनरी मर्मत संभारका लागि दक्ष प्राविधिकहरुको अभाव पूर्ति गर्ने र उद्यमशिलता विकास गर्ने मुख्य उद्देश्य सहित आयोजित उक्त तालिमबाट सहभागी कृषकहरु कृषि मेशिनरीहरु आफैं मर्मत गर्न सक्ने भई आत्मनिर्भर बन्ने, मर्मत खर्च र समयको बचत हुने तथा स्थानीय स्तरमै कृषि मेशिनरी सम्बन्धी स्वरोजगारका अवसरहरु सिर्जना भई दिगो कृषि यान्त्रिकीकरणमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

समापन कार्यक्रममा नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले तालिम भव्य रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि कृषि तालिम केन्द्रसँग समन्वय गरी यस्ता तथा अन्य विभिन्न कृषि मेशिनरी तथा प्रविधिमा आधारित तालिमहरू सञ्चालन गर्न संघ सधैं तत्पर र इच्छुक रहेको प्रतिबद्धता व्यक्त गरे ।

साथै कृषि तालिम केन्द्रका निमित्त प्रमुख पवन सिंह भण्डारीले केन्द्रको इतिहासमै पहिलो पटक अनलाइन प्रक्रियामार्फत आवेदन खुला गरिएको जानकारी दिए । कुल २२ सिटका लागि बागमती प्रदेशभरीबाट करिब १०० जनाको उत्साहजनक आवेदन परेको उल्लेख गर्दै उनले केन्द्रले संचालन गरेको कृषि मेशिनरी मर्मत तथा सम्भार सम्बन्धी तालिममा पहिलो पटक महिला कृषकको सहभागिता हुनुले कृषि यान्त्रिकीकरणमा महिलाको सहभागिता बढ्दै गएको उनको भनाइ थियो ।