सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति


काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारका पछिल्ला गतिविधि, मन्त्रीहरूका अभिव्यक्ति र कार्यशैलीप्रति आपत्ति जनाएका छन् । 

सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले विधिको शासन र मानवीयतालाई उपेक्षा गरेको आरोप लगाएका हुन्।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक निर्माण नगर्ने व्यवसायीको खुट्टा भाँचिदिने भनी दिनुभएको अभिव्यक्तिको सन्दर्भमा दुलालले सो कुरा गैरकानूनी र अशोभनीय भएको बताए । 

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा दुई जना मन्त्रीसहितको फोटो सार्वजनिक गर्दै देश बनाउने टोली भनी उल्लेख गरेको विषयमा टिप्पणी गर्दै दुलालले देश तीन जनाले मात्र नभई समग्र मन्त्रिपरिषद्को नेतृत्वमा बन्ने बताए । उनले प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले यस्ता गम्भीर विषयलाई ठट्टाको रूपमा लिनु उपयुक्त नभएको जिकिर गरे । 

अर्थमन्त्रीको विषयमा प्रमुख सचेतक दुलालले बजेट निर्माणमा करका दरहरू हेरफेर भएको कुरा अर्थमन्त्रीले घुमाउरो पाराले स्वीकार गरिसकेको दाबी गरे । उनले यसअघि साना कुरामा पनि संसदीय छानबिनको माग गर्नेहरू अहिले गम्भीर विषयमा छानबिन गर्न डराएको भन्दै आलोचना गरे । 

यसैगरी, सीमा क्षेत्रमा भइरहेका समस्या र सुस्ता लगायतका क्षेत्रमा नागरिकले भोग्नुपरेको पीडाप्रति सरकार संवेदनशील हुनुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीका कतिपय हलुका अभिव्यक्तिले सीमा क्षेत्रका नागरिकमा आक्रोश पैदा गरेको र यसले दीर्घकालीन असर पार्ने उनले उल्लेख गरे । संसदीय अभ्यासका सम्बन्धमा चर्चा गर्दै दुलालले सत्ता पक्षले प्रतिपक्षका जायज मागलाई पनि सम्बोधन नगर्ने गलत परम्परा बसेको बताए ।