चिया निर्यात अवरोधबारे महासङ्घको प्रतिनिधि मण्डल र परराष्ट्रमन्त्रीसहितका सरकारी अधिकारीबिच छलफल



काठमाडौँ । नेपाली चिया निर्यातमा देखिएको अवरोधबारे नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वले परराष्ट्रमन्त्री शिशिर खनालसहितका सरकारी अधिकारीसँग छलफल गरेको छ ।

नेपाली चिया निर्यातमा भारतले गरेको अवरोध र यसबाट चिया उद्योग व्यवसायीहरूमा परेको असरबारे उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ, निवर्तमान उपाध्यक्ष हेमराज ढकालसहितको टोलीले परराष्ट्रमन्त्री खनालसहितकाे सरकारी अधिकारीसँग बिहीवारसँग छलफल गरेको हो ।

छलफलमा नेपाल चिया व्यवसायी सङ्घका अध्यक्ष आदित्य पराजुली लगायत विभिन्न चिया उद्योग तथा व्यवसायीहरूको सहभागिता रहेको थियो ।

छलफलका क्रममा प्रतिनिधिमण्डलले पछिल्लो समय नेपाली चिया निर्यातमा देखिएको अवरोध, त्यसका कारण उद्योग तथा किसानहरूमा परेको आर्थिक प्रभाव तथा निर्यात प्रक्रियामा देखा परेका प्राविधिक र प्रशासनिक समस्याबारे मन्त्री खनाललाई विस्तृत जानकारी गराएको थियो ।

उनीहरूले समस्या समाधानका लागि नेपाल सरकारबाट तत्काल कूटनीतिक तथा संस्थागत पहल आवश्यक गर्न परराष्ट्रमन्त्री खनाललाई आग्रह गरेका थिए ।

छलफलका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाली चिया निर्यातसँग सम्बन्धित समस्याको समाधानका लागि तत्काल नेपालस्थित सम्बन्धित निकायहरू, भारतीय पक्षसँगको कूटनीतिक समन्वय, तथा कोलकाता स्थित नेपाली महावाणिज्य दूतावासमार्फत आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले दीर्घकालीन रूपमा यस्ता समस्या दोहोरिन नदिन नेपालमै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको परीक्षण प्रयोगशाला (ल्याब) स्थापना गरी गुणस्तर प्रमाणीकरणको व्यवस्था सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सरकार यस विषयमा आवश्यक सहजीकरण गर्न सकारात्मक रहेको बताए ।

भेटवार्तामा प्रतिनिधिसभा उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर खान अन्सारी, प्रतिनिधिसभा सदस्य माननीय गणेश पराजुली, उद्योग मन्त्रालयका सचिव तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको समेत उपस्थिति रहेको थियो ।

सहभागीहरूले नेपाली चिया उद्योग देशको महत्वपूर्ण निर्यातमुखी क्षेत्र भएकाले यसको दीर्घकालीन संरक्षण, गुणस्तर अभिवृद्धि तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता विस्तारका लागि सरकार र निजी क्षेत्र बिच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले चिया निर्यातमा देखिएको समस्या सामान्य नभएको र यो समस्याले यो पेशामा आबद्ध किसान र उद्योगीलाई ठुलो समस्या परेको बताए ।

वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले महासंघ सधैं यस्ता विषयमा निरन्तर सक्रिय रही सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबिच समन्वय गर्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठले चिया निर्यातमा देखिएको समस्या समाधानका लागि महासङ्घ निरन्तर सक्रिय रहेको बताउँदै सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबिच समन्वय गरेर चाँडै सकारात्मक परिणाम हासिल हुने विश्वास व्यक्त गरे ।

व्यवसायीहरूलेसरकारको सक्रियता र कूटनीतिक पहलबाट निकट भविष्यमा निर्यात प्रक्रिया पुनः सहज हुने अपेक्षा व्यक्त गरेका छन् ।

भारतीय चिया बोर्डले गत मे १ देखि लागु गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिज’ (एसओपी) र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने अव्यवहारिक मापदण्डका कारण नेपाली चिया निर्यातमा समस्या भएकाे छ ।

६० हजारभन्दा बढी कर्मचारी तथा मजदुरहरूलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको र राज्यलाई वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व बुझाउने यो क्षेत्र बन्द हुने अवस्थामा पुगेको छ ।