विद्युतीय सवारी साधन आयातमा अनियमितताः १३ कर्मचारी निलम्बनमा,चार आयातकर्ता र ऐजेन्टमाथि कारबाही सुरु


काठमाडाैँ । रसुवा भन्सार कार्यालयबाट भएका विद्युतीय सवारी साधन जाँचपास र आयातमा गम्भीर लापरबाही देखिएको छ ।

भन्सार जाँचपास र आयातमा गम्भीर लापरबाही देखिएपछि अर्थ सरकारले तत्कालीन भन्सार प्रमुखसहित १३ जना कर्मचारी, आयातकर्ता र एजेन्टमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

भन्सार विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीहरूलाई तत्काल निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

यस्तै विद्युतीय सवारी साधन आयातकर्ता लक्ष्मी इ–मोबिलिटी प्रा. लि. साइमेक्स इंक प्रा. लि,सि. जी. मोटर्स प्रा. लि. र पूजा इन्टरनेसनल नेपाल प्रा. लि.माथि कारबाही प्रक्रिया अगाडि बढाएको भन्सार विभागले जनाएको छ ।

विद्युतीय सवारी साधन आयातकर्ता लक्ष्मी इ–मोबिलिटी प्रा. लि. साइमेक्स इंक प्रा. लि,सि. जी. मोटर्स प्रा. लि. र पूजा इन्टरनेसनल नेपाल प्रा. लि.माथि कारबाही प्रक्रिया अगाडि बढाएको भन्सार विभागले जनाएको छ ।

यस्तै अवैध कार्यमा संलग्न एजेन्ट नम्बर २४८, एजेन्ट नम्बर ८३३ र एजेन्ट नम्बर ४७८ लगायतका भन्सार जाँचपास प्रतिनिधिहरूलाई पनि प्रचलित कानुन अनुसार कारबाही गर्न सम्बन्धित भन्सार कार्यालयमा लेखी पठाइएको भन्सार विभागको विज्ञप्तिमा उल्लेख छ ।

भन्सार विभागका अनुसार, रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारी साधनको भन्सार जाँचपास गर्ने क्रममा कर्मचारीहरूले पर्याप्त सावधानी र पदीय जिम्मेवारी पूरा नगरेको भेटिएको छ ।

अनुगमन टोलीले प्रज्ञापनपत्र, कार्यालयको अभिलेख र सिसिटिभी फुटेजको विस्तृत अध्ययन गर्दा कतिपय सवारी साधनहरू भन्सारमा भौतिक रूपमा आइ नपुग्दै कागजतातका आधारमा मात्र जाँचपास गरिएको फेला पारेको हो ।

यसरी कानुनी प्रक्रिया पूरा नगरेको देखिएपछि अर्थ मन्त्रालय र भन्सार विभागले संलग्न कर्मचारीहरूलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

मुस्ताङ भन्सारमा भने समस्या नदेखिएको भन्सार विभागले जनाएको छ ।

मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीको प्रतिवेदन अनुसार भने २०८३ जेठ १२ र १३ गते कुल ६४९ वटा विद्युतीय सवारी साधनहरू ९ ओटा प्रज्ञापनपत्र मार्फत जाँचपास प्रक्रिया अघि बढेको पाइएको थियो ।

विभागले अभिलेख र सिसिटिभी फुटेज विश्लेषण गर्दा ती ६४९ वटै विद्युतीय सवारी साधनहरू २०८३ जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको र नियमानुसार जाँचपास भइसकेको निष्कर्ष निकालेको छ ।