काठमाडौँ। नेपालको धितोपत्र बजारमा अनलाइन कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या तीव्र गतिमा बढिरहेको देखिएको छ। धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि आवश्यक टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) खाता खोल्ने लगानीकर्ताको सङ्ख्या चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३२ लाख ७८ हजार पुगेको छ।
केही वर्षअघिसम्म सीमित लगानीकर्तामा केन्द्रित रहेको सेयर कारोबारमा अहिले आम नागरिकको पहुँच विस्तार हुँदै गएको तथ्यांकले देखाएको छ। २०७७ असारसम्म करिब ३५ हजारको हाराहारीमा रहेको टिएमएस खाताको संख्या त्यसयता लगातार उकालो लाग्दै आएको छ।
२०७८ असारसम्म यो सङ्ख्या ह्वात्तै बढेर ७ लाख ९५ हजार ९३४ पुगेको थियो। त्यसपछि पनि विस्तारको गति रोकिएन। आर्थिक वर्ष २०७८र७९ को अन्त्यसम्म १४ लाख ८५ हजार ४६० र २०७९र८० को अन्त्यसम्म १७ लाख ६३ हजार ३०१ लगानीकर्ताले टिएमएस खाता खोलिसकेका थिए।
यस्तै, आर्थिक वर्ष २०८०र८१ को अन्त्यसम्म टिएमएस खाताको सङ्ख्या २२ लाख १६ हजार २४७ पुगेको थियो। पछिल्लो एक वर्षमै थप करिब ४ लाख १७ हजार नयाँ खाता थपिँदा आर्थिक वर्ष २०८१र८२ को अन्त्यसम्म यो सङ्ख्या २६ लाख ३३ हजार ५१० पुगेको छ।
चालु आर्थिक वर्षमा भने लगानीकर्ताको आकर्षण अझ तीव्र देखिएको छ। वैशाख मसान्तसम्म मात्रै थप करिब ६ लाख ४४ हजार नयाँ टिएमएस खाता खुलेका छन्। यससँगै कुल खाताको संख्या ३२ लाख ७८ हजार पुगेको हो।



प्रतिक्रिया दिनुहोस्