काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमबार सुर्खेतबाट पक्राउ परेका छन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका सिलसिलामा उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा कर्णाली प्रदेश प्रहरीले नियन्त्रणमा लिएको हो। पौडेल पक्राउ परेलगत्तै विभागको टोलीले ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा समेत छापा मारेको छ।
पार्टीको संगठनात्मक सुदृढीकरण एवं प्रदेशस्तरीय कार्यदलको सुझाव संकलन कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत पुगेका थिए। उनलाई सुर्खेतबाटै नियन्त्रणमा लिई तत्कालै काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरी उच्च स्रोतले जनाएको छ। काठमाडौँ ल्याएपछि उनलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि विभागमा बुझाइनेछ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलको भैंसेपाटी निवासमा छापा मारेको पुष्टि गरेको छ।
एमालेभित्र अध्यक्ष केपी शर्मा ओली निकट मानिने उनी यसअघि पटक–पटक उपप्रधानमन्त्री, अर्थमन्त्री र एमालेको संगठन विभाग प्रमुख जस्ता महत्त्वपूर्ण जिम्मेवारीमा रहिसकेका छन्।



प्रतिक्रिया दिनुहोस्