मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा


काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको जनाएको छ । 

यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुनसक्ने र करिव २ लाख २६ हजार विपद्को जोखिममा रहेको प्राधिकरणकी सूचना अधिकारी शान्ती महतले बताइन् । यही असार ५ गते (शुक्रबार) कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन प्रणाली अझैपनि कोशी प्रदेशमै कमजोर अवस्थामा रहेको छ ।

मनसुन देशभर सक्रिय हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ । मनसुनजन्य विपद्बाट हुने क्षति न्युनिकरण तथा प्रतिकार्यको लागि आवश्यक पूर्वतयारी भइसकेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी शान्ति महतकाअनुसार मनसुनजन्य विपद्बाट हुनसक्ने क्षति न्युनिकरणका लागि ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ स्वीकृत गरी सबै प्रदेश, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा कार्यान्वयनका लागि पठाइसकिएको छ । 

मुलुकका अधिकांश स्थानीय तहले सोही कार्ययोजनालाई आधार बनाएर आफ्नै स्थानीय कार्ययोजना समेत तयार गरी कार्यान्वयनमा ल्याइसकेका छन् । सूचना अधिकारी महतले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको बताइन् ।

२ लाख २६ हजार जनसंख्या मनसुनजन्य विपद्को जोखिममा रहेको समेत महतले जानकारी दिइन् । उनले प्राधिकरणले मनसुनसँगै खडेरी र अत्यधिक गर्मीबाट उत्पन्न हुनसक्ने जोखिमलाई समेत लक्षित गर्दै पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।

उक्त योजनामा अत्यधिक गर्मीको अवस्थामा संघ, प्रदेश र स्थानीय तहका निकायहरूको जिम्मेवारी तथा कार्यक्षेत्र स्पष्ट रूपमा तोकिएको बताइन् । उनले तातो हावाको लहरको जोखिम कम गर्न समेत सबै तहका सरकारबीच आपसि समन्वय र सहकार्य भइरहेको बताइन् ।

उनले यस वर्षको मनसुनबाट लुम्बिनी, कोशी र मधेश प्रदेश मनसुनजन्य विपद्बाट सबैभन्दा बढी प्रभावित हुनसक्ने तथा कर्णाली प्रदेश तुलनात्मक रूपमा कम प्रभावित हुने अनुमान गरिएको बताइन् । उनले सम्भावित विपद्को सामना गर्न खोज तथा उद्धार सामग्री, राहत सामग्री र अन्य आवश्यक उपकरण विगत वर्षहरूको तुलनामा थप खरिद गरी विभिन्न स्थानमा भण्डारण गरिएको बताइन् ।

साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीनवटै सुरक्षा निकायका तालिमप्राप्त जनशक्ति तथा गोताखोरहरू समेत तयारी अवस्थामा राखिएको महतको भनाइ छ । उहाँले प्राधिकरणले विपद् प्रतिकार्य, राहत तथा उद्धार कार्यका लागि ११ वटा मन्त्रालयबीच समन्वयको व्यवस्था गरिएको जानकारी दिइन्।

विपद्का बेला नागरिकले प्रयोग गर्ने हेल्पलाइन नम्बर ११४९ को सेवा अब केन्द्रिय स्तरमा मात्र नभई ७७ वटै जिल्ला प्रशासन कार्यालयअन्तर्गतका जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट समेत सञ्चालन हुने व्यवस्था मिलाइएको बताइन् । विपद्को मनसुनी विपद्को जोखिम भएका क्षेत्रका नागरिकलाई समेत आवश्यक पूर्वतयारीसहित बस्न आग्रह गरेको छ ।