काठमाडौँ । नेपालसहित ६ एसिया–प्रशान्त देशमा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका सीमान्तकृत समुदायको जीविकोपार्जन सुधार गर्न ुइन्क्लुसिभ क्लाइमेट फाइनान्स फर भल्नेरेबल कम्युनिटीज इन एसिया–प्यासिफिक (आईसिसिपी) परियोजना सुरु भएको छ।
परियोजनाले जोखिममा रहेका समुदायको जलवायु अनुकूलनका लागि आवश्यक वित्तीय स्रोतमा पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ। यो पाँचवर्षे परियोजनाअन्तर्गत जलवायु वित्त नीति सुदृढीकरण, वित्तीय संस्थाको क्षमता अभिवृद्धि, हरित वित्त प्रवर्द्धन, नवीन वित्तीय औजार विकास तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा जोड दिइनेछ।
कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले परियोजनाले जलवायु वित्तमा रहेको पहुँचको खाडल कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। अप्राकाका महासचिव डा. प्रसुनकुमार दासले महिला तथा सीमान्तकृत समुदायलाई प्राथमिकतामा राखेर नेपालमा तीन वित्तीय संस्थामार्फत परियोजना कार्यान्वयन गरिने जानकारी दिए।
नेपालसहित बङ्गलादेश, भूटान, कम्बोडिया, फिजी र लाओसमा सञ्चालन हुने परियोजनाबाट करिब १४ हजार परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ। परियोजनाको राष्ट्रिय फोकल पोइन्ट अर्थ मन्त्रालय रहेको छ।



प्रतिक्रिया दिनुहोस्